साधारण सभा सम्पन्न गर्न विभागमा निवेदन



काठमाडौं : साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको १५औँ साधारण सभा बीचैमा छोडेर संस्थाका अध्यक्ष गिरीधरलाल न्यौपाने लगाएत मनोनित संचालकहरु भागेपछि स्थगन भएको साधारण सभा सम्पन्न गर्न शेयर होल्डरहरुले माग गरेका छन् ।

शेयर होल्डरहरुले साधरण सभा सहजिकरण गरी दिनका लागि सहकारी विभागमा निवेदन दर्ता गराएका छन् । साझा स्वास्थ्य सेवाका निर्वाचित संचालकहरु दिलिपमान श्रेष्ठ र हिमबहादुर क्षेत्रीलगायत तीन दर्जन शेयर होल्डरहरुले हिजो मंगलबार सहकारी विभागमा पुगेर लिखित रुपमा निवेदन दिएका छन् । संस्थाका संचालक एवम् संचालक समिति अध्यक्षका उम्मेद्वार क्षेत्रीको नेतृत्वमा शेयरधनिहरुको प्रतिनिधि मण्डल सहकारी विभागमा पुगि सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार यथाशीघ्र रोकिएको साधारण सभा सम्पन्न गर्न सहजिकरण गरिदिनका लागि सहकारी विभागमा निवेदन दर्ता गरिएको छ ।

साझाको १५ औँ साधारण सभा चलिरहँदा संस्थाका अध्यक्ष भागेपछि साधारणसभाका बाँकी काम प्रभावित हुन पुगेको छ । संचालक क्षेत्रीले द नेपाल टपसँग कुरा गर्दै यस अवधि भित्र साधारण सभा नगर्ने षडयन्त्र भइरहेकाले शेयर होल्डरहरुले विभाग गुहार्नु परेको बताए । उनले भने- ‘कहीँ नभएको जात्रा साझा स्वास्थ्यमा भएको छ । वर्तमान मनोनित अध्यक्ष र संचालकहरु आफ्नो पदावधी लम्ब्याउने खेलमा छन् यसका विरुद्ध हाम्रो अभियान जारी छ ।’

एक हप्ता भित्र साधारण सभा आयोजना हुनु पर्नेमा संचालक समितिका अध्यक्ष सम्पर्क बिहिन भएको हुँदा सहकारी ऐन कानुन अनुसार साधारण सभा आयोजना सहजिकरण गरिदिने सुव्यवस्था मिलाईदिन भन्दै निवेदन दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्