मुस्कानलाई भेट्न आउन प्रधानमन्त्रीलाई अभिभावकको आग्रह



द नेपालटपसँग कुरा गर्दै मुस्कानको पीडा सबै नेपाली चेलीहरुको पीडा भएको बताउँदै रसुलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालमा आएर आफ्नी छोरीलाई भेट्नका लागि आह्वान गरे । ०७६ सालयता ५ महिनामा एसिड आक्रमणका दुई घटना सार्वजनिक भएका छन् । गत जेठ १ गते बुधबार राति काठमाडौंको कालोपुलमा २२ वर्षीया युवतीमाथि आफ्नै श्रीमानले एसिड प्रहार गरेका थिए । त्यसको चार महिनापछि मुस्कानमाथि आक्रमण भयो । यस्ता घटनाले छोरीचेलीलाई घरबाट बाहिर निस्कनै डर भएकाले प्रधानमन्त्री स्वयम् यसमा गम्भिर हुनुपर्ने उनले बताए ।

काठमाडौं : दिनभरको घरायसी कामले लखतरान परि रातिदेखि सन्चो नभएर घरमै सुतिरहेकी आमा सहनाजलाई एक्कासी छोरीमाथि एसिड प्रहार भएको खबर सुन्नसाथ पृथ्वी हल्लियजस्तो भयो ।

एक त बिरामी त्यसमाथि छोरीको खबरले उनको आँखा अगाडि सबै अन्धकारमय भयो । छेउमै रहेका श्रीमान र छोरालाई पनि देखिनन् सहनाजले । भावविहल भएकी उनी एकोहोरो कराउन थालिन आफ्नी प्रिय छोरीलाई सम्झदै । घटनापछि छोरीलाई नजिकैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लागियो । प्रारम्भिक उपचारपछि उनलाई काठमाडौं ल्याइयो । अहिले उनको उपचार काठमाडौंको कीर्तिपुर अस्पतालमा भइरहेको छ ।

सधै झैँ बिहान ४ बजे उठेर नवाज पढिसकेपछि बिहान विद्यालय जाने तयारी गर्दै थिइन् मुस्कान खातुन । विद्यालय जाँदा उनीसँग प्रायः आमासँगै हुन्थिन् । विहान आमा मर्निङवाक पनि हुने छोरीलाई साथी पनि हुने भन्ने सोचेर सधै आमाछोरीसँगै निस्कन्थे । त्यस दिन अलि सन्चो नभएका कारण घरमै आराम गरिरहेकी थिइन्, सहनाज । तर, त्यसैदिन मुस्कानको जीवन माथि ठूलो बज्रपात पर्यो । सोच्दै नसोचेको घटना भयो । पढेर ठूलो मान्छे हुने र राम्रो जागीर खाने लक्ष्य लिएकी मुस्कानका सबै सपना त्यही नै चकनाचुर हुन पुगे । कल्कलाउँदो उमेर र सुन्दर अनुहार मुस्कानको निम्ति अब पीडा बल्झाउने सम्झना मात्रै हो । उनी अहिले जिवन र मरणको दोसाँधमा छन् ।

छोरीमाथि एसिड प्रहार भएको सातादिन बितिसक्दा पनि जन्म दिने बुबाआमाको आँखामा आँशु रोकिएको छैन । छोरीको छट्पटाहट हेर्दा कति पीडा हुँदो हो, सायदै कसैले बुझ्ला ? त्यहाँ पुग्नेकाको आँखा नरसाउने पनि कमै होलान् । पुग्नेले सान्त्वना र साथ दिनु बाहेक अरु के नै गर्न सकिदो रहेछ र ।

मुस्लिम समुदायकी किशोरी मुस्कान कीर्तिपुर अस्पतालको एक बेडमा अहिले पनि छट्पटाइ रहेकी छन् । उनलाई भएको पीडा सायद कसैले अनुभव र महशुस गर्न कसैले सक्दैनन् होला ।

हिजो मंगलबार द नेपालटप रिपोर्टिङको लागि कीर्तिपुर अस्पतालमा पुग्दा जुन दृश्य देखिएको थियो त्यो दृश्य अब कसैको नहोस् । हामी पुग्दा खातुन अस्पतालको बेडमा थिइन् । जो न बोल्न सक्थिन न त हिड्डुल गर्न नै । उनको उपचारका लागि त्यहाँ रहेका बुबाआमा पीडामै थिए ।

एडिस प्रहारको पीडामा डुबीरहेकी मुस्कानको आइतबार कीर्तिपुर अस्पतालमा तीन घण्टा लामो सल्यक्रिया भयो । सल्यक्रियापछि उनलाई आइसियू कक्षको बेड नं ४०६ मा राखिएको छ । तर, शल्यक्रियापछि उनको कानमा इन्फेक्सन भएको छ । दुवै हातलाई पट्टीले बाँधेर झुण्ड्याइएको अवस्थामा छट्पटाइ रहेकी छन् १४ वर्षीया मुस्कानको हृदयविदारक दृश्यले सबैको मुटु छुन्छ ।

मुस्कानको कम्मरमाथिको सबै शरीर पट्टीले बाँधिएको छ भने कम्मरमुनीको भागलाई पातलो ब्ल्यांकेटले छोपिएको छ । अनुहारको दाहिने गालामा एसिडले जलाएरको छ ।

जब उनलाई औषधी लठ्याउछ तब शान्त हुँदै निदाउछिन् । जब औषधीले काम गर्न छोड्छ तब फेरी सुरु हुन्छ उनको छट्पटाहट ।

एक दिदी, दुई भाई र १ बहिनी छन् मुस्कानका, उनका बुबा रसुल खातुनले बताए । जेठी छोरीको बिवाह भइसकेको छ । अंग्रेजी भाषामा श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत मुस्कानको धेरै पढ्ने र जागीर खाने लक्ष्य थियो छोरीको, गहभरी आशु पार्दै बुबाले भने ।

छेउमै उभिएकी आमा सहनाज भने आँखाभरी आशु लिएर मात्र कुरा सुनिरहेकी थिइन् । मुस्कानका बुबा भन्दै थिए आज मुस्कानलाई आक्रमण गर्यो भोलि यस्ता अरु मुस्कानमाथि यस्तो आक्रमण नहोस् ।

अहिले उनका बुबाआमा उनको रेखदेखका लागि अस्पतालमै छन् । आखाँभरी आशु पार्दै छोरीमाथि भएको घटना पीडा सहन वाध्य छन् ।

घटनाको बारेमा सोध्दा पीडाको घाँउ झन बल्झिने हो की भन्नेपनि लाग्यो तर सोध्नैपर्ने बाध्यता । हामीले मलिन स्वरमा सोध्यौ । सामान्य आर्थिक अवस्थाको परिवारमा हुर्किरहेकी मुस्कान गत भदौ २० गते शुक्रबार बिहान करिब ६ बजेतिर विद्यालय हिँडिरहेको अवस्थामा घरनजिकै एसिड आक्रमणमा परिन् ।

घटनाका विषयमा बेलिविस्तार लगाउँदै जाँदा थाहा भयो, केही दिनदेखि नजिकैको चोकमा बसेर मुस्कानलाई जिस्काउने गरेका रहेछन् वीरगञ्ज २ छपकैयाका माजिद मियाँ हजार र सम्साद मियाँ हजार ।

विद्यालय जाँदै गर्दा उनिहरु बाटोमा ढुकेर आफूलाई जिस्काउने गरेको देख्दा आजित भएकी थिइन् मुस्कान । ‘मुस्कानले हिम्मत गरेर आफूमाथी हुने गरेको व्यवहारबारे आफ्नी आमालाई सुनाइन् ।’ बुबा रसुल खातुनले भने, ‘आफ्नी नाबालक छोरी आफ्नै गाउँमै असुरक्षीत रहेको सुन्दा निकै चिन्ता लाग्यो ।’

‘श्रीमतिले यो कुरा भनिपछि छोरीलाई जिस्क्याउने ती दुई युवकलाई सम्झाए ।’ रसुल खातुनले थप्दै भने, ‘सम्झाएको भोलीपल्टदेखी मुस्कानलाई जिस्काउन छाडेका थिए ।’

‘केही समयपछि मैले छोरीलाई सोधे तिमीलाई ति केटाहरुले जिस्काउछन् किन जिस्काउँदैनन् । छोरीले भनी नाइ जिस्काउदैनन् ।’ उनले बरबराउदो स्वरमा भने, ‘यस्तो दिन आउछ भन्ने थाह पाएको भए तिनीहरुलाई त्यसै छोड्ने थिइन । तर, उनीहरु सुध्रिएका रहेनछन् ।

उनले यस्तो हुन्छ भन्ने थाहा भएको भए उनीहरुलाई यसै छाड्ने थिइन् आक्रोशित स्वरमा भने । उनको कुरा सुनि रहेकी आमा सहनाज भने सुक्कसुक्क गर्दै थिइन् ।

एक महिनासम्म पनि उनले छोरीलाई सोधिरहे बाटोमा फेरी पहिले जस्तो समस्या छ की भन्दै सोधिरहे तर छोरीको जवाफले उनि ढुक्क थिए ।

उनीहरुको त्यो ढुक्कपनाले दिगो भने पाउन सकेनन् । छोरी मुस्कानको अनुहारमा कहिल्यै नमेटिने दाग लाग्यो । आफ्नै गाउँले दाजुभाईको आक्रमणको सिकार भइन् मुस्कान् ।

सांसद सधै आउछन् मेयर आएनन्
वीरगञ्ज उपमहानगरपालिकाका मेयरले विजय कुमार सरावगीले सुरुमा १५ हजार दिए । तर त्यसपछि उनले एक पटक पनि हामीलाई सम्झेका छैनन् । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले भने दिनहुँ जसो मुस्कानको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आउने गरेको बुबा रसुलले बताए ।

मिडियालाई सुझाव
कतिपय मिडियाले तथ्यलाई मोडेर समाचार प्रसारण प्रकाशन गरेकोमा आपत्ति जनाउँदै रसुलले सत्यतथ्य समाचार प्रसारण गर्न र दोषिलाई कडा कारवाहीका लागि माग गरिदिन सबैलाई आग्रह गरे । मिडियाले पीडामाथि पीडा नथप्न आग्रह गरे ।

के छ कानुनी व्यवस्था ?
गत भदौदेखि प्रचलनमा आएको मुलुकी अपराध संहिता ऐनको दफा १९३ मा ‘कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किइ वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन’ भन्ने लेखिएको छ ।

सजायको हकमा भनिएको छ ‘कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’

अनि यो जरिवानावापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्तिवापत दिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्