हृदेश त्रिपाठी नेतृत्वको समूह संगठन विस्तार गर्न जिल्ला पुग्ने



काठमाडौं : हृदेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले तत्काल कुनै पार्टीसँग एकता नगर्ने घोषणा गरेको छ । स्वतन्त्र राजनीतिक समूहको बैठकले पारित गरेका निर्णय सार्वजनिक गर्दै त्रिपाठीले संगठन विस्तार गर्ने उदघोष गरेका छन् ।

तत्कालिन एमालेको सूर्य चिन्ह लिएर निर्वाचन लडेका त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने चर्चा चल्दै गर्दा त्रिपाठीले समूहको संगठन विस्तार गर्न अब जिल्ला जिल्ला पुग्ने बताए ।

स्वतन्त्र राजनीतिक समूहले पार्टीको संरचनामा नगए पनि देशभर आफ्ना गतिविधि अघि बढाउने बताए । त्यसका लागि ७७ जिल्लामै समूह विस्तार गर्ने, जिल्ला संयोजक र सचिव बनाउने निर्णय भएको उनले बताए ।

प्रतिनिधिसभाका सांसद समेत रहेका त्रिपाठीले ०७४ असोज १६ गते तत्कालीन नेकपा एमालेसँग दुई बुँदे सहमति गर्दै ‘सूर्य’ चिन्ह लिएर नवलपरासीबाट निर्वाचन उठेका थिए ।

संविधान संशोधन मुद्दा नछोड्ने

स्वतन्त्र राजनीतिक समूहले संविधान त्रुटिपूर्ण रहेको भन्दै संविधान कार्यान्यवनका लागि पनि संशोधन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । संविधानको प्रस्तावनामै संशोधन हुने कुरा उल्लेख भएको भन्दै त्रिपाठीले सरकार, सत्तारुढ र प्रतिपक्षी दललाई संविधानको प्रस्तावना पढ्न आग्रह गर्दै ति त्रुटीहरु संशोधन गरेर सच्याउनुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले चुनाव जितेर आइसक्दा पनि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले नछोडिदिँदा तीन महिना कुर्नुपरेको स्मरण गराउँदै उनले त्यस्ता त्रुटीपूर्ण कुराहरु हटाउनका लागि पनि संविधान संशोधनको अपरिहार्यता रहेको बताए ।

संविधानमा रहेको त्रुटीकै कारण विश्वमै नेपालमात्र प्रतिनिधिसभाभन्दा पहिला राष्ट्रियसभा बनाउने देश भएको उनले बताए । विगतदेखी नै आफूहरुले संविधान संशोधनको माग गर्दै आएको र त्यसलाई पूरा गर्न संघर्ष जारी नै राख्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्