कारबाहीमा तीस लडाकू मारिए



एजेन्सी : अफगानिस्तानको उत्तरी प्रान्त तखारमा भएको हवाई कारबाहीमा परी ३० तालिबान लडाकू मारिएका स्थानीय स्रोतले बुधबार जानकारी दिएका छन् । ख्वाजा बहाउद्दीन जिल्लाको बाहिरी इलाकामा उक्त हवाई कारबाही भएको थियो ।

सो कारबाहीमा परी कम्तीमा ३० लडाकू मारिनुको साथै अन्य कैयौ घाइते भएको अफगान सेनाका अधिकारी अब्दुल खलिल खलीलीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए । सो कारबाहीको क्रममा अपहरणकारीहरुको सवारी साधन पनि ध्वस्त पारिएको खलिलीले बताएका थिए ।

यो कारबाही अफगान वायुसेना वा नेटोको नेतृत्वमा गठबन्धन सेना कसले गरेको हो सो भने प्रष्ट भएको छैन । यसै महिनाको शुरुदेखि नै यो प्रान्तमा तािलबान लडाकू र सुरक्षा अधिकारीबीच भीषण भीडन्त हुँदै आएको छ । तालिबान लडाकू समूह र सुरक्षाबलसँगको ठूलो झडपपछि छिमेकीमा पर्ने याङगी काला र दार्कद जिल्लालाई तालिबानले कब्जा गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्