प्रदेशभित्र न्यायपूर्ण समाज निर्माण आवश्यक



काठमाडाैं : प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले ‘समृद्ध प्रदेश सुखी जनता भन्ने’ प्रदेशको मूल नारालाई सफल पार्न न्यायपूर्ण समाज निर्माण गर्नु आवश्यक रहेको बताएका छन। प्रमुख झाले प्रदेश सरकारका तर्फबाट पूरा गर्नुपर्ने न्यायिक, कानूनी र संवैधानिक दायित्व बहन गर्ने कार्यमा मुख्य न्यायाधिवक्ता कार्यालयको अहम भूमिका रहने स्पष्ट पारे ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन प्रेश गर्ने कार्यक्रममा झाले प्रदेशभित्र शान्ति, सुरक्षा र कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा मुख्य न्यायाधिवक्ताको विशेष भूमिका रहनेमा जोड दिए ।

“प्रदेशसभामार्फत जनतासमक्ष जाने यस प्रतिवेदनबाट प्रदेश सरकारले गरेका काम कारवाहीबारे जनतालाई सुसूचित हुने अवसर प्राप्त हुने र त्यसबाट शासन व्यवस्थामा जनताको सहभागितामा अभिवृद्धि हुन गई जनताप्रतिको जवाफदेहीता पूरा गर्न सहयोग पुग्ने विश्वास लिएको छु”,उनले भने । मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले ९० प्रतिशत मुद्दामा सफलता मिलेको बताए ।

उनले प्रदेश सरकारलाई विपक्षी बनाइ सर्वोच्च अदालत, उच्च अदालत तुल्सीपुर, अस्थायी इजलास बुटवल र नेपालगञ्जमा दायर भएका रिट निवेदनमा सफलता मिलेको उल्लेख गरे । मुख्य न्यायाधिवक्ता डिसीले आगामी आर्थिक वर्षदेखि दिगो विकासका लागि प्रथम पञ्चवर्षीय रणनीतिक योजनाको शुरुआत र अपराध न्यूनीकरणमा सहयोग पु-याउने उद्देश्यले अपराध प्रवृत्तिको विश्लेषण कार्यक्रम सञ्चालन गर्ने बताए ।

कर्मचारी व्यवस्थापन र भौतिक संरचनाको अभावले ०७४ चैतदेखि ०७५ असारसम्म कुनै गतिविधि सञ्चालन गर्न नसकिएको जानकारी गराउँदै उनले मानवअधिकार, स्वतन्त्र न्यायपालिका, कानून र न्यायका सिद्धान्तप्रति दृढ रही सरकारले सम्पादन गर्ने कार्यको कानूनी प्रतिरक्षको लागि क्रियाशील रहने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्