प्रधानमन्त्रीको उपचार खर्च सार्वजनिक गर्न कांग्रेसको माग



काठमाडौं : प्रदेश १ का प्रतिपक्षी सांसदले प्रधानमन्त्री केपी ओलीको उपचार खर्च सार्वजनिक गर्न माग गरेका छन् । बुधबार प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै प्रमुख पतिपक्षी दल कांग्रेसका सांसदले प्रधानमन्त्री ओलीको उपचार खर्च सार्वजनिक गर्न माग गरेका हुन् ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार गराएको खर्च थाहा पाउने नागरिकको हक भएकाले खर्च सार्वजनिक गर्न माग गरे । कार्कीले भने, ‘हामी प्रम ओलीको स्वास्थ्यलाभको कामना गर्छौँ, तर उहाँको उपचार कुन आर्थिक स्रोतबाट कति खर्चमा भयो, त्यो जान्न पाउने अधिकार नागरिकलाई छ । त्यसैले उहाँको उपचारमा भएको खर्च तत्काल सार्वजनिक गरियोस् ।’

सांसद कार्कीले प्रम ओली सिंगापुरमा उपचार गराइरहँदा धेरै ठेकेदार पैसाको मुठो बोकेर अस्पतालको बिल तिर्न पुगेको दाबी गरे । ‘ठेकेदारले प्रमको उपचार खर्च किन बेहोरेका हुन् रु कारणसहित उपचारको स्रोत प्रस्ट रूपमा सरकारले सार्वजनिक गर्नुपर्छ,’ कार्कीले भने । सांसद कार्कीले सरकारले सुशासन र भ्रष्टाचार अन्त्यका कुरा गरे पनि मन्त्रालय र कार्यालयहरूमा खुला रूपमा भ्रष्टाचार भइरहेको आरोप लगाए । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्