शसस्त्र प्रहरीको काम पैसा लिदै छाड्दै



लहान : भन्सार छलेर भारतबाट नेपाल भित्र्याईँदै गरेको १५ लाख रुपैयाँ बराबरको औषधी बरामद गरिएकोमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट माडर सिरहाले जिल्ला भन्सार कार्यालय खैरटोकालाई ५ लाखको मात्रै बुझाएको खुलासा भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट माडरका प्रहरी साहयक निरीक्षक दुर्गा खत्रीको नेतृत्वमा रहेको ७ जनाको टोलीले भदौ २३ गते (सोमबार) करिब १० बजे राति एम्बुलेन्स सहित १५ लाखको औषधी बरामद गरेको थियो ।

सिरहाको मुख्य भन्सार कार्यालय खैरटोका अगाडीको मुख्य सडकबाट बरामद गरिएको औषधीसहितको एम्बुलेन्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट माडरले आर्थिक प्रभाबमा परेर छाडेको छ ।

तस्करीमा प्रयोग भएको स१ त ९६० नम्बरको एम्बुलेन्समा आईसियू, इमरजेन्सी, शल्यक्रिया (अप्रेशन) लगायत उपचारमा प्रयोग हुने ३८ प्रकारका औषधी बरामद गरिएको थियो ।

शसस्त्र प्रहरी बलकै एक अधिकारीका अनुसार औषधी ५ वटा कार्टुन र १ वटा वोरामा राखेर एम्बुलेन्समा ल्याउदै गर्दा सिमामा तैनाथ प्रहरीलाई देख्नसाथ तस्करहरु भागेका थिए । रातीको समय भएकोले तस्करहरु भाग्न सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले द नेपालटपलाई बताए ।

सशस्त्र प्रहरी बल, नेपालबोर्डर आउट चेक पोष्ट माडरले औषधी मात्र समातेको र एम्बुलेन्स बारेमा जानकारी नभएको सशस्त्र प्रहरी बल सिरहा ७ नं गणका नायव उपरीषक दाहालले बताए ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट माडरले ५ लाख बराबरको औषधी मात्र बुझाएको जिल्ला भन्सार कार्यालय खैरटोकाले जानकारी दिएको छ ।

उक्त बरामद गरिएका औषधी र एम्बुलेन्स फूलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हा, सिरहाको रहेको स्रोतको दावी छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट माडरका इन्चार्ज शंकर दहालले माथिल्लो निकायको निर्देशनमा छोडेको हुन सक्ने सशस्त्र प्रहरी बल माडरमा कार्यरत एक जवानले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

यसैबीच, भन्सार छलीको मालसमान रोक्न जिल्ला प्रहरी कार्यालय सिरहाबाट नियमित समाचार सार्वजनिक हुने गरेको छ । तर, भन्सार छलीको मालसामान सशस्त्र प्रहरीको पोशाकधारीले नेपाल भित्र्याउँदै गरेको खैरटोका भन्सार कार्यालय छेउको एक भिडियो सार्वजनिक भएको छ ।

समाजिक सँजाल फेसबुकमा सार्वजनिक भएको उक्त भिडियोमा जिल्ला भन्सार कार्यालय सिरहाको मुलगेटमा प्रहरीलाई पैसा दिएर मालसमान छाडेको दृष्य देखिन्छ । तस्करहरुले सशस्त्र प्रहरीले तोकिएको एउटा कोठाको झ्यालमा रकम राखेर जाने गरेको दृष्य पनि कैद भएको छ ।

भिडियोको दृश्यमा त्यसरी राखिएको पैसा प्रहरीले चारैतिर नजर डुलाएर लिएको प्रष्ट देखिन्छ ।

एकातीर जिल्ला प्रहरी कार्यालय सिरहाले तस्करी तथा भन्सार छलीको कारोवार रोक्न सिमाक्षेत्रमा कडाई गरेको दावी गरिहँदा खुला रुपमा पैसा लिएर अवैद्य मालसमान नेपाल भित्रिदै गरेको उक्त भिडियोले अहिले सिरहा प्रहरीमा खैलाबैला मच्चिएको छ । उक्त भिडियो सार्वजानिक भएपछि सिमाक्षेत्रको व्यापारलाई व्यवस्थित गर्न लहानमा ब्यापारीहरुको बैठक बसेको छ । नेपालबाट मरिच, स्याउ, मटर, लसुन, सुपारी, मदिरा भारत निर्यात हुँदै आएको छ भने भारतबाट कपडा, इलेक्ट्रोनिक्सको समान, किराना लगायतका समान नेपाल आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्