काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिङपिङको आसन्न नेपाल भ्रमण लक्षित चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने भ्रमण समाप्तिसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिकन्फेरेन्स वार्ता भएको छ ।
यो वार्तासँगै चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री मोदी मध्येको पहिले नेपाल भ्रमणमा आउने हो भन्ने चर्चा र बहस सुरु भएको छ । चिनियाँ राष्ट्रपति आगामी महिना नेपाल आउने चर्चा छ भने भारतीय प्रधानमन्त्री पनि छिट्टै नेपाल भ्रमणमा आउने स्रोतको भनाइ छ ।
यतीबेला परराष्ट्रमन्त्रालय दुवै छिमेकी देशको उच्चस्तरीय भ्रमणका लागि आवश्यक तयारीमा व्यस्त देखिन्छ । दुवै छिमेकी देशका सम्बन्धित निकायसँग परराष्ट्रमन्त्रालयले निरन्तर गृहकार्य गरिरहेको छ ।
चीनसँग नेपालले राष्ट्रपति सिको भ्रमणको मिति तय गर्ने बाहेक अन्य आन्तरिक तयारी लगभग अन्तिम चरणमा पुगिसकेपछि परराष्ट्रमन्त्रालयले पछिल्लो पटक भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणका सन्दर्भमा तयारी थालेको थालेको बताएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार नेपालका राष्ट्रपतिबाट भारतका राष्ट्रपतिलाई पनि भ्रमणको निम्ता पठाइसकिएको छ । ज्ञवाली भन्छन्– निकट भविष्यमा भारतबाट उच्चस्तरको भ्रमण हुने कुरामा नेपाल सरकार विश्वस्त र आशावादी रहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीको कथनले पनि दुवै छिमेकी देशबाट राष्ट्रपतिस्तरीय भ्रमण हुने कुरा प्रष्ट पारिरहेको छ ।
वार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । जवाफमा मोदीले हार्दिकतापूर्वक स्वीकार गर्दै छिट्टै नेपाल भ्रमण गर्ने जवाफ फर्काएका छन् ।
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्–प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनी भ्रमण गर्ने उहाँको चाहनालाई मूर्तरुप दिने बेला भएको छ भन्दै नेपाल भ्रमणमा जोड दिनुभएको छ ।
उता भारतीय प्रधानमन्त्री मोदीले भूकम्पबाट क्षति भई भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका गोरखा र नुवाकोटका घरहरु निरीक्षण गर्ने तथा लुम्बिनीको भ्रमण गर्ने इच्छा गरेका छन् ।
त्यस्तै मोदीले भिडियो कन्फरेन्सबाट प्रधानमन्त्री ओलीलाई भेट्न आतुर र इच्छुक रहेको बताउँदै चाँडै भेट्न आउने वचन समेत दिए ।
यसैगरी चिनियाँ राष्ट्रपति सि उपयुक्त समयमा नेपाल भ्रमण गर्ने विश्वास दिलाउन नेपाल आएका विदेश मन्त्री वाङ सिको भ्रमणबारे आवश्यक छलफल गरेर फर्किसकेका छन् ।
परराष्ट्रमन्त्री ज्ञवाली राष्ट्रपति सिको भ्रमणको तिथिमिति तय नभैसके पनि आफूहरु विश्वस्त रहेको बताउँछन् । उनले सिको भ्रमणका लागि अहिले उपयुक्त समय भएको बुझाइ नेपाल सरकारको रहेको बताउँदै आवश्यक तयारीका लागि चीन सरकारलाई आग्रह गरिसकेको बताए ।
चिनियाँ विदेश मन्त्रीको तीन दिने नेपाल भ्रमण र पाइपलाइनको संयुक्त उद्घाटनबाट नेपालले दुवै छिमेकी देशसँगको सम्बन्धमा नयाँ आयम थपिएको सन्देश प्रवाह भइरहेको छ ।
मोदीले पाइपलाइनको संयुक्त उद्घाटनलाई भारत–नेपाल मित्रताको विशेष दिन भन्दै ट्वीट गरेका छन् । यसले दुई देशको सम्बन्ध मजबुद बन्दै गएको देखिन्छ ।