दल दर्ताका लागि नेकपाले आयोगमा दियो निवेदन



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ गते हुने उप निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

नेकपाका नेताहरु दल दर्ताका लागि निवेदन दिन बिहीबार निर्वाचन आयोग पुगेका थिए । नेकपाका निर्वाचन विभागका प्रमुख तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्वाचन आयोगमा दल दर्ताका निवेदन दिएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् ।

‘आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपाका तर्फबाट दल दर्ताको निवेदन भर्खरै निर्वाचन आयोगमा प्रस्तुत गरिएको छ । सहकर्मी खिमलाल देवकोटा, ईश्वरी रिजाल, श्रीरामजी ढकाल र बाबुराम दहालजीलाई धन्यवाद’, मन्त्री ज्ञवालीले ट्वीटमा लेखेका छन् ।

प्रतिनिधिसभामा एकसहित प्रदेश तथा स्थानीय तहका गरी ५१ स्थानमा मंसिर १४ गते निर्वाचन हुँदैछ । दल दर्ताका लागि खिमलाल देवकोटा, ईश्वरी रिजालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

बुधबार बसेको नेकपाको सचिवालय बैठकले दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्