भेटियो पृथ्वी जस्तै अर्को नयाँ ग्रह



एजेन्सी : अन्तरिक्ष वैज्ञानिकहरुले पहिलो पल्ट पृथ्वी बाहेक अर्को एक यस्तो ग्रह पत्ता लगाएका छन्, जहाँ जीवनको सम्भावना पनि हुनसक्ने देखिएको छ । यस ग्रहमा पानी पनि छ र मानिसहरु बस्नका लागि अनुकुल तापमान पनि रहेको छ ।

लण्डनका वैज्ञानिकहरुले ‘नेचर’ नामको पत्रिकामा यस बारेमा लेखेका छन् । उक्त लेखमा भनिएको छ यो ग्रह पृथ्वीभन्दा दुई गुना आकारको छ । वैज्ञानिकहरु भन्छन्, यसको तापमान शून्यबाट ४० डिग्री सेल्सियको बीचमा छ ।

वैज्ञानिकहरुले हाल यस ग्रहलाई K2-18B नाम दिएका छन् र पृथ्वीबाट यो १११ प्रकाश वर्षको दूरीमा छ । खगोलशास्त्रीहरुको ठूलो चिन्ता यो छ कि, यो ग्रह निकै दूरीमा रहेकाले अहिले नै त्यहाँ पुगेर त्यहाँ पहिलेदेखि नै जीवन थियो भनेर पत्ता लगाउन कठिन छ ।

k2-18B

तर वैज्ञानिकहरुलाई यो विश्वास छ कि आउने दशकमा अत्याधुनिक टेलिस्कोपको मदतले यसको बारेमा पत्ता लगाउन सकिनेछ ।

बीबीसीका अनुसार क्यानडा स्थित यूनिभर्सिटी अफ मोन्ट्रियालका प्रोफेसर बिर्यन बेनेकले यस खोजको नेतृत्व गरिरहेका छन् ।

प्रोफेसर बिर्यन बेनेक भन्छन्- ‘यो पहिलो पल्ट हो हामीले पृथ्वी बाहेक अर्को ग्रहमा पानी रहेको देखिरहेका छौँ । यो ग्रह यस्तो स्थानमा छ, जहाँ यसलाई प्रर्याप्त मात्रामा उष्मा प्राप्त हुनसक्छ, ठीक त्यस्तो उष्मा जसरी पृथ्वीलाई सूर्यबाट प्राप्त भएको हुन्छ । यस कारण पनि हामी यहाँ जीवनको सम्भावना देखिरहेका छौँ ।’

प्रोफेसर बेनेकले यो पनि भने की पृथ्वीसँग समानता भएपनि यो ग्रह पृथ्वीभन्दा धेरै अलग पनि छ ।

बेनेक भन्छन्- ‘मलाई लाग्छ हामीले यसलाई पृथ्वीसँग तुलना गर्दा थोरै सावधान रहनुपर्छ किनभने यो धेरै प्रकारले अलग पनि छ । यसको व्यास पृथ्वीको व्यासभन्दा ढाई गुना धेरै छ । हामीलाई थाहा छ यस प्रकारका ग्रहको चारै तिर ग्यासको मोटो आवरण पनि रहेको हुन्छ र जसरी तपाई यसको भित्र जाँदै गर्नुहुन्छ, तापमान पनि बढ्दै जान्छ ।’

वैज्ञानिकहरु भन्छन्, अझैसम्म K2-18B हाम्रो सौर्य मण्डलभन्दा बाहिर एउटामात्र यस्तो ग्रह हो जहाँ जीवनको आशा देखिएको छ । यसको बारेमा अझैपनि धेरै कुरा जान्न बाँकि नै छ ।

प्रतिक्रिया दिनुहोस्