लगानी मैत्री वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत



जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ मा लगानीकाे वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

 

धनुषा चेम्वर अफ कमर्सको प्रथम कार्यसमितिको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीहरुको सहयोग र लगानीले मात्र प्रदेश समृद्ध हुने भएकाले लगानीकर्ताहरुको सुरक्षाका लागि लगानीमैत्री वातावरण बनाउन आफूहरु तयार रहेको बताए । 

 

प्रदेशलाई समृद्ध बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले उद्योगी व्यवसायीहरुलाई प्रदेश नं. २ को उद्योग धन्धामा लगानी गर्न आग्रह गरे । उनले भने, ‘तपाईहरुको सहयोग विना प्रदेशलाई समृद्ध बनाउनु सकिदैन, त्यसैले तपाई सहयोग गर्नुहाेस्, उद्योग धन्धा यस प्रदेशमा शुरु गर्न वातावरण हामी बनाउँछौ, तपाईको लगानीको सुरक्षा हामी दिन्छौ ।'

 

असोज १९ गते सिमरामा लगानीकर्ताहरुको विशेष भेला प्रदेश सरकारले गर्न लागेको जानकारी गराउँदै उनले उक्त भेलाबाट औद्योगिक विकासका लागि प्राप्त हुने सुझावलाई प्रदेश सरकारले व्यवहारमा उतार्ने प्रतिवद्धता जनाए । 

 

विकास र समृद्धिको लागि सबै पक्षमा साकारात्मक सोच आवश्यक रहेको जिकीर गर्दै उनले समाजमा सकारात्मक सोचको विकासका लागि संचारकर्मीहरुलाई विशेष भूमिका खेल्न आग्रह गरे ।

 

उनले भने,‘ हामी अहिले पनि हत्या, अपराधकै समाचारमा रमाई रहेका छौ, संचारकर्मी मित्रहरुले यसमा भूमिका खेल्नु पर्छ, साकारात्मक कुराहरुमा सबैको ध्यान आकर्षित गर्नु पर्दछ ।' 

 

धनुषा चेम्बर्स अफ कमर्शका अध्यक्ष विजय कुमार साहको अध्यक्षतामा भएको समारोहमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, जनकपुर उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्