ट्राफिक प्रहरीको कुटाइबाट इ-रिक्सा चालक गम्भिर घाइते



नरेश सरार्फ / वीरगञ्ज : ट्राफिक प्रहरीका नायव निरीक्षकको कुटाइबाट वीरगञ्जका एक जना इ-रिक्सा चालक गम्भिर घाइते भएका छन् । ना १ ह ६६७१ नम्बरको इ-रिक्सा चालक वीरगञ्ज १४ पिप्राका २५ वर्षीया सन्तोष पटेललाई ट्राफिक प्रहरीका नायव निरीक्षक सुरेश यादवले कुट्दा उनी गम्भिर घाइते भएका हुन् ।

घण्टाघर चौकमा यात्रुलाई चढाउन खोज्दा डिउटीमा रहेका यादवले बोकेको वाकी टकिले एक्कासी हिर्काउदा पटेलको दायाँ कान फुटेको हो ।

घाइते पटेललाई गण्डकस्थित बयोध्धा अस्पताल उपचारको लागि भर्ना गरिएको छ ।

वाकीटकी सेटको एरियल कान भित्रै छिरेकाले रगत बगिरहेको छ, अस्पतालमा भेटिएका पटेलका भाइ विकेश पटेलले भने, डाक्टरले अझ केहि दिन अस्पतालमै राख्न्नु पर्छ भनेका छन् ।

घाइते चालक पटेलले घण्टाघर चोक छेउको सडकमा इ-रिक्सा रोकेर आफु यात्रु चढाउने सुरमा रहेका बेला अचानक ट्राफिक प्रहरी नायव निरिक्षक यादवले वाकीटकी सेटले कन्चटमा हिर्काएको बताए ।

चालक पटेललाइ अनाहकमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै ट्राफिक प्रहरीको कारवाहीको माग गर्दै इ-रिक्सा र टेम्पो चालकहरुले घण्टाघरमा विरोधस्वरुप चक्का जाम गरेका छन् ।

चालकहरु प्रदर्शनमा उत्रिए पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा ट्राफिक प्रहरी निरिक्षक राज कुमार सिंह र आन्दोलनरत चालकहरु बिच वार्ता भएको थियो ।

वार्तामा चालक पेटललाइ कुटपिट गर्ने प्रहरी नायव निरिक्षक यादवविरुद्ध विभागीय कारवाही गर्ने र चालक पटेलको सम्पूर्ण उपचार खर्च प्रहरीले व्यहोर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनरत चालकहरुले दिउँसोबाट इ-रिक्सा र ट्याम्पो सञ्चालन गरेका हुन् ।

समाचार संकलनका लागि सञ्चारकर्मीलाई अस्पताल प्रवेशमा रोक लगाइएको थियो । पछि अस्पताल प्रवेश गर्न दिइएपनि अस्पताल प्रशासनले घाइते पटेलको तस्बिर खिच्न दिएन ।

प्रतिक्रिया दिनुहोस्