उपहार र ऋण मिनाहको थप सेवा दिँदै झापाका वित्तीय सहकारी



काठमाडौं : सेवा र सुविधाको लक्ष्य लिएर खोलिएका वित्तीय सहकारीहरुले बजारको प्रतिस्पर्धात्मक वातावरणलाई नियाल्दै एकपछि अर्को गरी नयाँ नयाँ जनसेवी कार्यक्रहरु ल्याउन थालेका छन् । पछिल्लो चरणमा झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना महिला शेयर सदस्यका लागि सुत्केरी भएमा नगद सहयोग र पौष्टिक आहारका लागि उपहार प्रदान गर्दै आएको छ ।

यस सहकारीले महिलाका थप सेवाका कार्यक्रम ल्याएपछि स्थानीय महिला शेयर सदस्य हुनतर्फ आकर्षित भइरहेका छन् । आर्थिक आयआर्जनका क्षेत्रमा महिला सहभागिता बढाउने लक्ष्य लिएर थालनी गरिएको उक्त सहकारीका अध्यक्ष भवानीप्रसाद दङ्गालको भनाइ छ– समाजका स्थायी योगदानकर्ता महिलालाई सुत्केरी अवस्थामा आवश्यक पर्ने पोषिलो खानेकुराका साथै आमा र नवजात शिशुको स्याहारलाई मध्यनजर गर्दै सहकारीले थप सेवा ल्याएको हो ।

हाल सहकारीमा आबद्ध महिलाको आर्थिक स्थिति हेरी सुत्केरी हुँदा न्यूनतम ५ सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म उपहार दिने गरिएको छ । अध्यक्ष दङ्गालका अनुसार दिइने उक्त रकम शेयर सदस्यले जम्मा गर्ने गरेको मूलधनका आधारमा हुन्छ । उनका अनुसार महिनामा ५ सय बचत गर्ने महिलाले सुत्केरी हुँदा ५ सय रुपैयाँ पाउने र मासिक पाँच हजार रुपैयाँ जम्मा गर्ने महिलाले सुत्केरी हुँदा पाँच हजार रुपैयाँ नै पाउने व्यवस्था गरिएको छ ।

यो सहकारीले नवजात शिशु खाता निःशुल्क रुपमा खोल्दै ५ सय रुपैयाँदेखि पाँच हजार रुपैयाँ खातामा बचत गरिदिने गरेको छ ।

उपर्युक्त सेवाका अतिरिक्त सहकारी सदस्यको मृत्यु भएमा सहकारीले ऋण मिनाह गर्दै आएको छ । परिवारलाई आर्थिक भारबाट मुक्त गराउन यसो गर्ने गरेको सहकारी अध्यक्षको भनाइ छ ।

झापा जिल्लामा सञ्चालित अधिकांश सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस्तैखाले विभिन्न आकर्षक तथा सेवामुखी कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्