ब्यूँतिदैछ परम्परागत घाम घडी



काठमाडौं: पुर्खाले सूर्यको छायाँको सहयोगमा विहान दिउँसो अनि तारा र नक्षत्र नियालेर रातको घडीपला यकिन गरी घरगृहस्थी चलाएको अभ्यास वर्तमान पुस्ताका लागि दन्त्य कथा बनिसक्यो ।विज्ञान प्रविधिमा भइरहेका नयाँ–नयाँ प्रयोगले समयको सूचक ‘घडी’को परिभाषालाई फराकिलो बनाइरहेका बेला नेपालमै परम्परागत घडी ब्यूँत्याउने तयारी गरिएको छ । वरिष्ठ खगोलविद् जयन्त आचार्यले घामको छायाँको सहयोगमा समय यकिन गर्न सकिने ‘नेपाल धुप घडी’ तयार गरेका हुन् ।

 

उनले बनाएका दुई वटा परम्परागत घडीलाई दाङको तुल्सीपुर उप–महानगरपालिका र नेपाल संस्कृत विश्वविद्यालयले प्रयोगमा ल्याउँदैछन् । आगामी एक महिनाभित्र धुप घडी प्रयोगमा आउँदै बताउँदै तुल्सीपुर उप–उपमहानगरका मेयर घनश्याम पाण्डेले भने–‘एउटा घडी नगरपालिका परिसरमा रहनेछ भने अर्को यहिको राप्ती शान्ति उद्यान परिसरमा राख्ने तयारी गरिएको छ ।’

 

बैदिकशास्त्रमा भएको विज्ञानलाई आधुनिक विज्ञानसँग जोड्दै नयाँ पुस्तालाई परम्परागत अभ्यास बुझाउन यस्तो पहल अघि बढाइएको उहाँले जानकारी दिनुभयो।उपमहानगरपालिका र सो विश्वविद्यालयको संयुक्त सहकार्यमा दाङमा प्राचिन विज्ञानको अध्ययन थलो बनाउने तयारी भइरहेको पाण्डेले बताए ।

 

आचार्यले तयार गरेको करिव एक फिट लम्बाई र एक फिट चौडाई घडीको डायल ग्रेनाइड खोपेर तयार गरिएको छ भने समय सूचक सुईमा तामाको पाता प्रयोग गरिएको छ । यस्तो घडीले स्थानीय समय दुरुस्तै बताउन सक्ने खगोलविद् आचार्यको दावी छ । स्थानीय ठाउँको अक्षांश र देशान्तरको आधारमा ध्रुवताराको दिशातर्फ फर्काएर धुपघडी राखिने भएकाले स्थानीय समय सुनिश्चित गर्न सकिने आचार्यको भनाई छ । काठमाडौंको बसन्तपुरस्थित नासल चोक, त्रिचन्द्र कलेजको घन्टाघरकै समिपमा, स्वयम्भुको सरस्वर्ती मन्दिरसँगै,छाउनी संग्राहलय लगायत जस्ता सार्वजनिक स्थलमा राणाकालमै यस्ता घडी स्थापना भएका थिए ।

 

जानकारहरुका अनुसार काठमाडौंमा स्थापना गरिएका घडी अहिले कामै नलाग्ने गरी विग्रिसकेका छन् । धेरै यूरोपेली मुलुकका चोक–चोकमा अझै पनि परम्परागत घडी देख्न सकिने आचार्य बताएको समाचारपत्रमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्