भक्तपुरका छोटे राजा : जो ४५ वर्षदेखि निरन्तर नेतृत्वमा छन्



भक्तपुर : विजुक्छे विचारधाराका अनुयायी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छे, रोहित उपनामबाट पनि परिचित छन् । अमेरिकालाई बेलाबखत टक्कर दिइरहने उत्तर कोरियासँग उनको खास र राम्रो सम्बन्ध छ ।

पारिवारिक उत्तराधिकारीलाई राष्ट्रप्रमुखका रुपमा अघिसार्दै आएको उत्तर कोरियाकै शौलिलाई पछ्याउँदै आफ्नो परिवारको उत्ताराधिकारी अघि नसारेपनि पार्टी प्रमुखमा चाहिँ आजन्म आफैँ रहिरहने सोचमा छन्, उनी ।

पार्टीलाई सरकारमा सामेल नगराउने रणनीति अख्तियार गर्दै आएका अध्यक्ष विजुक्छेको पार्टी नेमकिपा संसदमा सदावहार प्रतिपक्ष दल हो । कुनै बेला तत्कालिन कर्णाली अञ्चलमा समेत पार्टी संगठनको राम्रो पक्कड बनेको नेमकिपा अहिले भक्तपुरको विजुक्छेको घर वरिपरीमा सिमित हुन पुगेको छ ।

८२ वर्षको वृद्धावस्थाका बाबजुद नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले फेरि अर्को कार्यकालका लागि अध्यक्ष हुने चाहना व्यक्त गरेका छन् । आउँदो असोजको पहिलो सातामा भक्तपुरमा आयोजना हुन गइरहेको नेमकिपाको पार्टी महाधिवेशनमा उनी अध्यक्षका प्रत्यासी बन्ने छन् । उनको प्रतिस्पर्धी कोही हुन सक्छ कि सक्दैन त्यो त हेर्न बाँकी नै छ । तर आन्तरिक रुपमा बन्दसत्रमा परम्परागत कम्युनिष्ट विधिपद्धति अन्तर्गत हुने अधिवेशनमा उनी निर्विकल्प हुने प्रायः निश्चित देखिन्छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा र विश्व कम्युनिष्ट आन्दोलनमा बदलिंदो परिस्थितिसँगै विचार विकास र उत्तराधिकारीको पंक्ति निर्माणको कुरा निकै गरिन्छ । एकसेएक क्रान्तिकारी नेताहरुको सुदृढ पंक्तिका निर्माणका कुरा पनि निकै गरिन्छ । माक्र्सदेखि माओसम्मका कृतिहरुमा पनि त्यही कुरा पाइन्छ । तर व्यवहारमा बृद्धहरुको निर्विकल्प नेतृत्व रहिरहन्छ किन ? त्यो पनि अझ पार्टीभित्र नयाँ र योग्य नेतृत्व वा उत्तराधिकारी निर्माण हुन सकेन भनेर वैचारिक श्रेष्ठता प्रदर्शन गर्दै ।

यसले प्रश्न उठाउँछ– कम्युनिष्ट पार्टीमा नेतृत्वको प्रश्न के हो ? एउटै नेता बाचुन्जेल मुख्य नेतृत्वमा रहिरहन रुचाउनुको कारण के हो ? यसले सामन्तवादी नेतृत्वको विरासतसित कत्तिको मेल खान्छ ? कम्युनिष्ट पार्टीमा रहेको यो रुढीवादी नेतृत्वको निरन्तरता पुँजीवादी भनिने प्रजातान्त्रिक प्रक्रियाभन्दा अगाडी त छैन नै बरु सामन्तवादी राजाहरुभन्दा पनि पछि पर्न थालेको दखिन्छ । किनकि, जापान, थाइल्याण्ड लगायतका देशहरुमा रहेका संवैधानिक राजाहरुले आफ्नो जीवन कालमै वंशमै भएपनि छोरा या नातिहरुलाई गद्दी हस्तान्तरण गर्दै जान थालेका छन् ।

कम्युनिष्टहरुले आदर्श मान्दै आएका विचार र नेताहरुलाई पछ्याउँदै जाँदा पनि चिनियाँ नेता माओत्से तुङले ‘सैयौं फूलहरु फुल्न देऊ र सैयौं विचारधाराहरुलाई प्रतिस्पर्धा गर्न देऊ’ भनी आजभन्दा ४४ वर्षअघि नै तात्कालीन चीन र विश्व परिवेशको सन्दर्भमा भनिसकेका थिए । तर ‘वाद’ वा ‘विचारधारा’ जे स्वीकार गरुन्, माओका अनुयायी भन्न रुचाउने कम्युनिष्टहरुमा पनि यसको व्यवहारिक प्रयोगको त कुरै छाडौं, गन्धसमेत पाउन सकिदैन ।

हाल भक्तपुरको एउटा क्षेत्र र नगरपालिकालाई किल्ला बनाएर राजनीति गर्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष विजुक्छेले गत प्रतिनिधिसभा चुनावमा आफुले लड्दै र ०४८ सालदेखि जित्दै आएको क्षेत्रमा नेतृत्व हस्तान्तरण गर्न तयार देखिए । उनले पार्टी सचिव प्रेम सुवाललाई उक्त क्षेत्रमा टिकट दिएर आफु अभिभावकको रुपमा रहने घोषणा पनि गरे ।

यसो गरेवापत विजुक्छेले पार्टीभित्र मात्र होइन, बाहिर पनि राम्रै प्रशंसा बटुलेका थिए । पार्टीमा नेतृत्व हस्तान्तरण गरेर उत्तराधिकारी निर्माणमा भूमिका खेलेको जश लिएका थिए । उनै विजुक्छे अहिले फेरि पार्टी नेतृत्व आफ्नै कब्जामा राख्न चाहँदा आलोचित बन्न थालेका छन् । प्रथम महाधिवशेनदेखि अहिलेसम्म अविछिन्न नेतृत्वमा रहेका रोहित असोज ३ देखि ५ सम्म भक्तपुर हुने भनिएको सातौं राष्ट्रिय महाधिवेशनबाट पनि अध्यक्ष बन्ने दाउँमा छन् ।

बिजुक्छे ०४६ पछि नेमकिपाको नेतृत्वमा छन् । हुँदै गरेको महाधिवशेनबाट पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुने आशा राखेका कार्यकर्ता निराश हुन पुगेका छन् । उल्टै पार्टीमा नेतृत्व गर्ने उत्तराधिकारीको जन्म भइनसकेको तर्क अगाडि सार्दै आएका रोहितको पार्टीभित्र उनको यस्तोखाले प्रवृत्तिको खुलेर आलोचना र विरोध नसकेपनि पार्टी कार्यकर्ताको असन्तुष्टि भने भित्रभित्रै भुसको आगो झैं सल्किदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्