प्रदेश २ मा १२ सयबढि कर्मचारीको पद रिक्त



जनकपुरधाम : प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दापनि प्रदेशमा कर्मचारीको पदस्थापना हुन सकेको छैन ।

तीन हजार २ सय ८ कर्मचारीको दरवबन्दी रहेको प्रदेश २ मा १२ सयबढि कर्मचारीको पदस्थापना हुन सकेको छैन । कर्मचारी अभावमा प्रदेशको काम कारवाहीमा समस्या हुँदै आएको छ ।

प्रशासन सेवातर्फको २८ उपसचिवको दरबन्दी भएपनि ३ जनाको मात्रै पदस्थापना भएको छ भने ८९ जना सेक्सन अफिसरको दरबन्दी रहेको प्रदेश २ मा ३४ जना मात्रै पदस्थापना भएको छ ।

यसैगरी २५ उपसचिव र ५५ सेक्सन अफिसरको पदस्थापना हुन बाँकी नै छ भने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयकाअनुसार नासु स्तरका १ सय ४९ दरबन्दी रहेकोमा १ सय ९ जनाको पदस्थापना भएको छ । साथै ४० जनाको अझै पदस्थापना हुन बाँकी छ ।

खरदारस्तरका ६० दरबन्दी रहेकोमा ५७ जनाको भने पदस्थापना भएको छ ।

प्रशासनतर्फकै ३२ जना लेखा अधिकृतको दरबन्दी रहेको २९ जनाको पदस्थापना भएको छ भने ३ जनाको पदस्थापना हुन बाँकी छ । ८१ जना लेखापालको दरबन्दी रहेकोमा ५९ जनाको पदस्थापना भएपनि २२ जनाको पदस्थापना हुन सकेको छैन । ३६ जना सहलेखापालको दरबन्दी रहेकोमा ३६ जनाकै पदस्थापना भएको छ ।

त्यस्तै कम्प्युटर अधिकृतमा ५४ जनाको दरबन्दी रहेकोमा ३७ जनाको पदस्थापना भयो भने अरु रिक्त अवस्थामै छ । ४ जना सहायक कम्प्युटर अपरेटरको दरबन्दी रहेकोमा ४ जनाकै पदस्थापना भएको छ ।

वन सेवामा सबै कर्मचारीको पदस्थापना भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सूचना अधिकृत पदम पोखरेलले बताए । वन सेवातर्फ १३ उपसचिव र ९१ जना सहायक वन अधिकृतको दरबन्दी रहेकोमा सबैको पदस्थापना भएको पोखरेलले जानकारी दिए ।

कृषि सेवातर्फ ४ सय १६ कर्मचारीको दरबन्दी रहेकोमा १ सय ४३ कर्मचारीको पदस्थापना हुन बाँकी छ । त्यस्तै सामाजिक विकास मन्त्रालय अन्तर्गतका १३ उपसचिव, ११ शाख अधिकृतको पदस्थापना भएको छ ।

नयाँले धान्दै
पदस्थापना भएका अधिकांश कर्मचारी लोकसेवा पास गरेका नयाँ पुस्ताका युवा छन् । पुराना छिमलका कर्मचारी यस प्रदेशमा आउन नमान्दा संघीय सरकारले नयाँ छिमलका कर्मचारीलाई पठाउने गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कोमल बाहादुर खत्रीले पुराना पुस्ताकाकर्मचारीको सिंहदरबार छोड्न नमान्ने प्रवृतिका कारण भर्खरै लोकसेवा पास गरेका कर्मचारीहरु प्रदेशमा पठाउने गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्