देउवा भुतभुताउँदा पौडेल बिरामी,कांग्रेसको चाबी आरजुको सिरानी



काठमाडौं : आफ्नो कार्यकाल सकिने बेलामा विभाग गठनको तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई इतर पक्ष असन्तुष्टीका कारण टाउँको दुखाइ बनेको छ ।

आगामी फागुनमा कार्यकाल सकिने भएपनि आउँदो महाधिवेशनको मुखैमा विभाग गठन गरेर आफ्ना नजिकका नेता तथा कार्यकर्तालाई खुसी पार्न लागेको भन्दै पौडेल पक्षले आरोप लगाउँदै आएको छ । नेपाली कांग्रेसमा एक दशक देखि विभागहरु क्रियाशिल हुन सकेका छैन । सुशील कोइराला सभापति रहेका बेला पनि आफ्नो कार्यकालको अन्यमा विभाग गठन भएपनि देउवा पक्षले सन्तुलन नभएको भन्दै राजीनामा दिएपछि निकृय हुन पुगेको थियो ।

कांग्रेसमा आन्तरिक भागवण्डा नमिल्दा विभाग गठन हुन नसकेको कुरा देउवा पक्षीय नेता डा. प्रकाश शरण महत बताउँछन् । उनका अनुसार पौडेल पक्षले नाम नदिँदा विभाग गठनमा ढिला भएको हो ।

पौडेल पक्षीय नेता मिलेन्द्र रिजाल भने महाधिवेशनको मुखैमा विभाग गठन गर्नुको औचित्य नभएको बताउँछन् ।

कांग्रेसका नेता रिजाल भन्छन्–‘यस्तै हो भने सुशील कोइरालाले पनि कार्यकालको अन्तिम तिर विभाग गठन गर्दा देउवा जीहरुले जे गर्नु भएको थियो, अहिले पनि त्यस्तै स्थिति दोहोरीन सक्छ ।’

अहिले सभापति देउवा आफूले ६० प्रतिशत संख्या लिएर बाँकी ४० प्रतिशतमा रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षलाई दिने पक्षमा छन् । यही ४० प्रतिशत भित्र कांग्रेसमा प्रवेश गरेका विजय गच्छदार पक्षलाई पनि अटाउन चाहन्छन् । तर, गच्छदार र सिटौला यो मान्न तयार छैनन् । देउवाको भित्री कुरा थाहा पाएपछि अहिले पौडेल, सिटौला र गच्छदार यो मुद्दामा एक ठाउँ उभिदै देउवालाई घुँडा टेकाउने तयारीमा जुटेका छन् ।

त्यसोत केही दिन अगाडि पूर्वनिधारीत केन्द्रीय समितिको बैठकमा सभापति देउवाले पेलेरै भएपनि विभाग गठन गर्ने तयारी गरेका थिए । यस विषयमा देउवा र पौडेलबीच भनाभन समेत भएको थियो । देउवा एकोहोरो ढंगले भुतभुताउँदा वरिष्ठ नेता पौडेल जुरुक्क उठेर सन्चो नभएको भन्दै अस्पताल पुगेपछि केही दिनका लागि बैठक स्थगित भएको थियो । पछि भएको बैठकमा विभाग गठन सम्बन्धी एजेण्डा नै बनेन ।

यसैबीच कांग्रेस मुख्यालबाट एकाएक हराएको भनिएको क्रियाशील सदस्यताको अभिलेख बुढानिलकण्ठ पुगेको पार्टीभित्र चर्चाको विषय बनेको छ । पार्टी कार्यालयबाट गायब भएको अभिलेख सभापति देउवा पत्नी आरजु राणाका एक नातेदारकहाँ फेला परेको एक कांग्रेस नेताले बताएका छन् । उनका अनुसार आरजुकै निर्देशनमा उक्त अभिलेख पार्टी कार्यालयबाट बुढानिलकण्ठ पुर्याइएको हो ।

स्रोतका अनुसार आरजुले मुख्य सचिव कृष्णप्रसाद पौडेललाई बोलाएर सबै अभिलेख आफ्नो कब्जामा लिन सफल भएकी थिइन । पार्टीभित्र महाधिवेशनको माग तीब्रतामा उठ्न थालेपछि अभिलेख हराएको भन्दै दोषभरि विरामी नेता नरहरि आचार्यमाथि थुपार्ने काम गरिएको थियो ।

हराएको अभिलेख पत्ता लागेको कुरा मिडियामार्फत् सार्वजनिक भएपछि आरजु राणालाई चर्को दबाब परेको छ । हराएको अभिलेख राणाका कम्प्युटर अपरेटरकहाँ फेला परेको हो । अपरेटर मनोनित केन्द्रीय सदस्य किशोरसिँह राठौरका भतिजा पनि हुन् । हाल ती अपरेटरलाई १५ लाख रुपैंया भुक्तानी दिएर हराएको भनिएको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा ल्याउने भइरहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्