१ लाख घुस रकम सहित ६ जना पक्राउ



वीरगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले वीरगन्जमा छापामार्दा प्रधानाध्यापक सहित ६ जनालाई पक्राउ गरेको छ।

अख्तियारको टोलीले एक लाख घुस रकम सहित वीरगन्ज ८ घण्टाघर स्थित गजुरेल गल्लीमा रहेको चिया पसलबाट वीरगन्ज ३१ वेल्वा प्रसौनीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्दर कुमार कापर सहित ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विद्यालयका सहायक प्रधानाध्यापक बारा परवानीपुर गाउँपालिका वडा नम्बर १ का मनिर मियाँ, शिक्षक जितपुर सिमरा नगरपालिका वडा नम्बर १० का सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू वीरगन्ज ३१ वेल्वाकै ईलियास मियाँ अन्सारी, सदिया खातुनका श्रीमान् जमिल मियाँ र नजमुदिन मियाँ देवान रहेका छन्।

विद्यालयले गणित शिक्षककोलागि करारमा नियुक्त गर्न विज्ञापन निकालेको थियो। तर अनुदानको कोटामा समेत नियुक्त गर्न एक जनासँग १ लाख घुस रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको आयोग हेटौडाका अधिकृत नर बहादुर चन्दले बताए।

पक्राउ परेका ६ जनालाई आवश्यक अनुसन्धानको लागि हेटौडा लगेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्