१३ वर्षअघि हेमकार परिवारसहित ५ जनाको हत्या गर्ने पक्राउ



काठमाडौं: जिल्ला प्रहरी कार्यालय बाँकले १३ वर्षअघि नेपालगञ्जका सुनचाँदी व्यवसायी हेमकार परिवारको हत्या गर्ने मुख्य अभियुक्त पक्राउ गरेको छ। उनलाई अाइतबार भारतीय सीमा नजिकको जमुनाहबाट पक्राउ गरिएको हो। 

 

हत्याकाण्डका मुख्य अभियुक्त भनिएका भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार घर भई हाल लखनउ सीतापुर प्रियदर्शनी कोलोनीमा बस्दै आएका ६५ वर्षीय किशोरीलाल सोनीलाई पक्राउ गरिएको बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए। 

 

२०६२ फागनु २३ गते नेपालगन्जका सुनचाँदी व्यवसायी हेमकार परिवारका बुहारी दीपा बाहेक परिवारका सबै सदस्यसहित ५ जनाकाे हत्या गरेका थिए। परिवारका गुलामदेवी हेमकार, जगदेव हेमकार, सीतादेवी हेमकार, दीपक हेमकार, र पसलमा काम गर्ने १५ वर्षीय रामशनिश्चर चौधरीको हत्या भएको थियो। पक्राउ  परेका व्यक्ति बुहारी दीपाका अाफ्नै बुबा हुन्। 

 

हत्या गरी २९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना लुटिएको थियो।


यसरी भएको थियो हत्या

प्रहरीको अनुसन्धान चकित तुल्याउने गरी यो हत्याकाण्ड भएको थियो। सुतिरहेका बेला धारिलो हतियार प्रहार गरिएको प्रहरी अनुसन्धानमा देखिएको थियो। मृतक सबैको रुद्रघण्टी निकालिएकाले हत्यारा पेसेवर भएको प्रहरीको निष्कर्ष थियो।

 

घटना कहालीलाग्दो भएको भन्दै तत्काल अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयबाट डिएसपीको टोली र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षकको टोली अनुसन्धानमा खटिएको थियो।

 

प्रहरीको अनुसन्धान टाेलीले पाँच सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदन तयार पार्‍यो। तर घटनाको निष्कर्ष निस्किएको थिएन। ६ वर्षपछि पुनः प्रहरीले चार जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थाल्यो। तर मुख्य अभियुक्त पक्राउ परेका थिएनन्। 

 

घटनामा परिवारकै सदस्यको हात रहेको प्रहरीले सुराकी पायाे। प्रहरीले शंका गरेको व्यक्ति बुहारी दीपा घटना भए लगत्तै घर बेचेर भारतको लखनउ बस्न थालेकी थिइन्। उनी अनुसन्धानको घेरामा तानिइन्। तर उनी पनि बेपत्ता भएकी थिइन्।

 

हत्या भएका दिन दीपा र उनका पति दीपक नेपालगन्जमा नभएको र पछि घर जग्गा बेचेर भारत गएकाले हत्यामा उनीहरुको संलग्नता भएको हुनसक्ने थप प्रमाण भएको प्रहरीले अाँकलन गरेको थियो। 

 

तत्कालीन भेरी अञ्चल प्रहरी प्रमुख राजेन्द्रसिंह भण्डारीले समेत हत्याको अनुसन्धान गरेका थिए।  तर अहिले १३ वर्षपछि हत्यारा पत्ता पक्राउ परेका छन्। 

प्रतिक्रिया दिनुहोस्