प्रचण्डले बोलि फेरेपछि अर्को अन्योलता



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै पनि देशका हित र नीतिविरुद्ध बोलेको भन्नु निराधार रहेको बताएका छन् । उनले आफू सबै देशहरुबीच समान सम्बन्ध भएको देख्न चाहने मानिस भएको कुरामा जोड दिएका छन् । शनिबार बिहान इलाममा पत्रकार भेटघाट गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्धहरु प्रत्येक देशका आआफ्नै हुने भएकाले त्यसमा कसैमाथि आक्षेप वा कटाक्ष आफूले गर्न नचाहेको कुरामा जोड दिएका छन् । उनले आफूले बोलेको भन्दा फरक ढंगले आफ्ना विचार बुझिएकाले अप्ठेरो हुन गएको भनेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटका क्रममा प्रचण्डले अमेरिकाको ‘इण्डो–प्यासिफिक अलाएन्समा नेपाल आवद्ध र प्रतिवद्ध नभएको’ र नेपालकै असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको भन्ने कुराले निकै चर्चा पाएको थियो । यस लगत्तै अमेरिकी दुतावासले नेपाल सरकारसँग आधिकारिक धारणा माग गरेको र विदेश सचिवसँग सोधपुछका लागि भेटघाट पनि गरेकाले यसले चर्कै रुप लिन पुगेको थियो ।

नेपालको आधिकारिक धारणा बोक्ने र प्रवाह गर्ने भनेको निर्वाचित सरकार नै हो । सरकार हरेक राष्ट्रको आधिकारिक संप्रभुसम्पन्न उच्च संवैधानिक निकाय हो । तर नेपालको परराष्ट्र नीतिका बारेमा यति गहिरो आशंका र विवाद सतहमा आउँदा पनि नेपाल सरकारले भने ठोस र आधिकारिक कुरा सार्वजनिक गर्न निकै कञ्जुस्याइ गरिरहेको छ । यसले जनतामा अन्यौलता सिर्जना गरिरहेको छ ।

विदेशमामलाविद तथा कुटनीतिज्ञहरुको कडा आग्रह छ– ‘नेपाल सरकारले यस बारेमा निकै दृढ, सन्तुलित र वास्तविक कुरा विश्वसामु ल्याउनु पर्छ । होइन भने हाम्रा छिमेकीका साथै मित्र राष्ट्रहरु पनि अन्यौल र दोधार रहने छन् । यसले सबैभन्दा ठूलो हानी नेपाल र नेपालीलाई नै पुर्याउने कुरामा दुईमत छैन ।’

राजनीतिक विश्लेषकका अनुसार सत्तारुढ दलका अध्यक्ष तथा नेता प्रचण्डले पनि दोलायमान भएर वाल्लो घाट न पल्लो तिरका कुरा गर्ने बानी परित्याग गर्नै पर्छ । आफ्ना कुरा स्पष्ट रुपमा राख्ने र त्यसको बचाउ गर्ने भन्दा पनि जस्तो वातावरण र परिस्थिति बन्दै जान्छ, त्यसैमा लय मिलाउने उनको बानी विश्वसनीय नरहेको उनीहरुको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्