इन्डोनेशियामा बन्धक बनाइएकी नेपाली चेलीको कथा



अस्ट्रेलिया लैजाने सपना देखाएर नौ महिना इन्डोनेशियाको जाकार्ता र बालीमा बन्धक बनाइएकी एक नेपाली युवतीले दलाललाई लाखौँ रुपैयाँ बुझाइन् तर उनी अस्ट्रेलिया कहिल्यै पुगिनन् ।
यौन आक्रमणबाट समेत बच्न सफल भएकी उनी कसरी नेपाल फर्किइन् ?

****************
म नेपाल फर्किएको केही दिन भइसकेको छ । तर म अहिले पनि इन्डोनेशियामा बन्धक नै छु जस्तो लागिरहेको छ ।

मलाई विश्वासै लागिरहेको छैन कि म अहिले नेपाल फर्किइसकेँ भनेर । मेरो जीउ अझै थरथर काँप्छ ।

म अहिले मनोवैज्ञानिक परामर्श पनि लिइरहेको छु ।

मेरो विदेश यात्राको कथा झन्डै एक वर्षअघि सुरु भएको थियो ।

नयाँ शैली र नयाँ मार्ग प्रयोग गरेर नेपालबाट यसरी हुन्छ, मानव तस्करी ।

‘साउदीमा १० वर्ष शोषण, बन्धकको जस्तो जीवन’
नेपालमा मेरा उमेरका धेरै साथीहरू विदेश गएर रमाएका तस्बिरहरू देख्दा मलाई पनि विदेश जान मन लाग्थ्यो ।

१२ कक्षासम्मको अध्ययन पूरा गरेपछि पढाइ रोकिएको थियो ।

मेरा धेरै साथीहरू अस्ट्रेलिया गइरहेको देखेर मलाई पनि त्यहाँ जान रहर लाग्यो ।

म घरकी जेठी छोरी । अहिले २३ वर्षकी भएँ । घरमा आमा, बुवा र दुई भाइ छन् । घरको आर्थिक अवस्था कमजोर भएकोले मनमनै अस्ट्रेलियामा थप अध्ययन गर्ने र फुर्सदमा पैसा कमाउने योजना बुन्न थालेँ ।

काठमाडौंमा सोधीखोजी गर्दा अस्ट्रेलिया लैजाने एक जना दाई भेटिए ।

‘अस्ट्रेलिया यात्रा प्रारम्भ’
उनले पैसा धेरै नलाग्ने र जाने प्रक्रिया पनि छिटो हुने बताए । मेरो बुबाआमा गाउँमा सामान्य खेतीकिसानी गर्नुहुन्छ ।

उहाँहरूसँग त्यति धेरै पैसा थिएन । जसोतसो ऋण खोज्ने कुरा भयो । हामीले घरजग्गा धितो राखेर एउटा बैंकबाट १६ लाख ५० हजार रुपैयाँ ऋण लियौँ ।

सुरुमा अस्ट्रेलिया लैजाने ती दाईलाई डेढ लाख रुपैयाँ बुझाएँ । उनले ‘सेटिङ्ग मिलाएर’ उडिहाल्ने योजना सुनाए ।

२०७५ साल मंसिर १२ गते म र एक जना नेपाली दाई मलेशिया उड्यौँ । त्यहाँबाट हामीलाई (इन्डोनेशियाको राजधानी शहर) जाकार्ता पुर्याइयो ।

त्यहाँ हामीलाई लिन एकजना भारतीय दलाल आए । हामीलाई एउटा होटलमा लगेर राखियो ।

त्यसपछि हाम्रो दुःख सुरु भयो । अस्ट्रेलिया उड्नको लागि भिसा बनाउन र ‘सेटिङ्ग’ मिलाउनका लागि थप पैसा चाहिन्छ भन्दै नेपालबाट थप पैसा मगाउन दवाव दिन थालियो ।

हामीले थप पैसा मगायौँ र बुझायौँ । तर अस्ट्रेलिया उड्ने दिन कहिल्यै आएन ।

जाकार्ता र बालीमा बन्धक
जाकार्तामा कुरेर बस्दै गर्दा नेपालबाट अरू दाईहरू पनि आउन थाले । हामी १३–१४ जना भयौँ । सबैलाई कोठामा बन्धक जस्तै बनाएर राखियो तर काम केही भएन ।

हामी छटपटाउँन थाल्यौँ । खाने र पिउने बन्दोबस्त पनि भएन । कोठामा थुनेर राखियो ।

हामीले थप पैसा बुझाए अस्ट्रेलिया जान सजिलो हुने भनियो । त्यसपछि हामीले फेरि पैसा मगायौँ र बुझायौँ ।

मैँले पटक–पटक गरेर १६ लाखभन्दा बढी बुझाएँ । तर अस्ट्रेलिया जाने दिन कहिल्यै आएन ।त्यसपछि हामीलाई बाली पुगेर त्यहाँबाट अस्ट्रेलिया जान सजिलो हुन्छ भनियो ।

चीन र कोरियामा बेचिन्छन् ‘नेपाली दुलही’
‘देह व्यापारमा लगाउन छिटो बढ्ने औषधी’

दुई दिनको ट्याक्सी यात्रापछि हामी बाली पुग्यौँ । त्यहाँ पनि एउटा होटलमा राखियो । जहाँ खान पकाउन मिल्ने सुविधा थियो ।

तर हामीलाई राम्ररी खान पनि दिइएन । म रोएर बस्थे । नेपाली दाईहरुले नै खाना खोजेर ल्याइदिन्थे ।

(बालीमा संसारभरीबाट मानिसहरु घुम्न जान्छन् ।) हामीलाई कतै घुम्न जान पनि दिइएन । त्यहाँ पनि दिन बित्दै गयो । तर केही भएन ।

दाईहरूलाई क्यानडा पठाइदिने भनिएको रहेछ । तर केही भएन ।

बालीमा एक महिना जति राखेपछि हामीलाई फेरि जाकार्ता फिर्ता लगियो । त्यतिबेला हामीले अस्ट्रेलिया जान मिल्छ भन्ने आशा पूरै त्याग्यौँ ।

हामीलाई नेपाल फर्किने व्यवस्था मिलाइदिन दलाललाई आग्रह गर्यौँ । तर तोकिएको भन्दा लामो समय इन्डोनेशिया बसेर ‘ओभरस्टे’ भएको भन्दै हामीलाई प्रहरीले पक्रिएर जेल हाल्न सक्छ भन्दै तर्साइयो ।

उम्कनका लागि हामीले लाखौँ रुपैयाँ जरिवाना तिर्नुपर्ने भनियो ।

यौन शोषण गर्ने प्रयास
हामीलाई जाकार्ता शहरको एउटा कोठामा फेरि बन्धक बनाएर राखियो ।

पैसा मगाइदिन्छु नेपाल फर्काइदेउ भन्दा दलालले अर्को कोठामा लगेर मलाई यौन शोषण गर्ने प्रयास पनि गर्याे । तर नेपाली दाइहरूले मलाई बचाउनुभयो । त्यसपछि म साह्रै विक्षिप्त र दुःखी भएँ । रोएर दिन र रात बिताउन थाले ।

कति दिन त आत्महत्या गर्ने सोच पनि बनाएँ । तर नेपाली दाईहरूले आड भरोसा दिइरहनु भयो ।
दलालले हाम्रो पासपोर्ट र मोबाइल फोन पनि खोसेर राखेका थिए ।

ऊ त पैसाको लागि जति पनि गिर्नसक्दो रहेछ । पैसाको लागि जे पनि गर्न तयार हुने रहेछ ।
मैले एउटा मोबाइल फोन आफैँ लुकाएर राखेको थिएँ ।

एक दिन कुनै उपाय निकालेर त्यसबाटै नेपालमा रहेका एक समाजसेवी दाई र भाउजुसँग सम्पर्क गरेँ र आफ्नो समस्या बताएँ ।

उहाँहरूले मलाई नेपाल फिर्ता लैजाने आश्वासन दिनुभयो । त्यसपछि म केही आशावादी भएँ ।

नेपालबाट सहयोगी हात
भित्रभित्रै कुरा मिलाएर उहाँ मलाई उद्धार गर्न एक दिन जाकार्ता आउनुभयो । रकम तिरेर मलाई फिर्ता लैजाने भन्दै दलाललाई भेट्नु भयो ।

उहाँहरूले जाकार्तामा धेरै हैरानी खेप्नु पर्यो र धेरै खर्च गर्नुभयो ।

भित्रभित्रै कुरा मिलाएर धेरै जनाको सहयोग लिएर उहाँले जाकार्तामा हामीलाई फर्काउन कागजपत्र बनाउनुभएछ ।

उहाँले नै (ती भारतीय दलालसहित) हामी सबैजनालाई भदौको पहिलो साता नेपाल ल्याउनु भयो । (लगत्तै भारतीय दलाल र उनका सहयोगी पनि पक्राउ परेका छन् ।)

अहिले म न्यायको पर्खाइमा छु । मेरो खेर गएको रकम फिर्ता पाउने आशामा छु ।

युवायुवतीलाई सन्देश
म जे जस्तो भोगेँ त्यो त मलाई नै थाहा छ । मैले आत्महत्या गरेको भए मेरो जीवन मेटिन सक्थ्यो तर मेरो घर परिवारले समेत निकै दुःख पाउन सक्थे ।

तर म आज बाँचेकी छु ।

नेपालबाट पैसा कमाउन भन्दै विदेश जान चाहने म जस्तै युवालाई मेरो सन्देश एउटै छ, तपाईँहरू विदेश जाँदै हुनुहुन्छ भने वैध र कानुनी बाटोबाट मात्र जानुहोस् ।

इजाजतप्राप्त कम्पनीको मात्र भर पर्नुहोस् । सबै कागजपत्र र बिल भर्पाई लिनुहोस् ।

अर्को देशमा ट्रान्जिटमा गएर कुरेर फेरि त्यहाँबाट पछि जाने भन्ने जस्ता जाल वा पासोमा नपर्नुहोस् ।

(एक नेपाली समाजसेवीको सहयोगमा हालै नेपाल फर्काइएकी ती युवतीले बिबिसीका सुरेन्द्र फुयाललाई आफ्नो कथा–व्यथा सुनाएकी हुन् ।)

प्रतिक्रिया दिनुहोस्