महोत्तरीमा अपराधिक घटना बढ्दो : घाँटी थिचेर विकेश बैठाको हत्या



महोत्तरी : जिल्लाको एकडारा गाउँपालिका– २ स्थित धान खेतमा आज (शनिबार) घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७-१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धान खेतमा शव पाइएको हो ।

बैठाको घाँटी थिचेर हत्या गरी फालिएको अवस्थामा आज बिहान करिब ९ः०० बजेतिर वनमा घाँस काट्न गएका महिलाले देखेपछि गाउँमा होहल्ला गर्दै जाँदा गाउँलेले प्रहरीलाई खबर गरेका प्रहरी उपरीक्षक अधिकारीले बताए । बेला गाउँदेखि भङ्गहिया गाउँ जाने बाटोमा पर्ने फेकन महासेठको धान खेतको बीचमा शव फेला परेको हो । बैठालाई अत्यधिक बलपूर्वक घाँटी थिचेका कारण दुवै आँखा बाहिर निस्केको अवस्थामा शव फेला परेको हो ।

गाउँमा दुई÷तीन दिनदेखि दाहा मेला लागेका अवस्थामा गएराति केही व्यक्तिले युवक बैठालाई फोन गरी मेला हेर्न बोलाएको थियो । तर अबेर रातिसम्म उनी फर्केर घर नआएपछि गाउभरि र आफन्तकामा उनको परिवारजनले खोजी गरे पनि कुनै पत्तो लागेको थिएन भने आज बिहान उनको हत्या गरिएको अवस्थामा शव फेला परेको उनका दाजु मुकेश बैठाले बताए ।

प्रहरीले हत्या गरिएका युवकको शवको स्थलगत मुचुल्का तयारी गरी अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्