सुर्खेत विमानस्थल विस्तारको तयारी शुरु



सुर्खेत : विसं २०२२ सालमा बनेको सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारी भएको छ ।
कर्णाली प्रदेश सरकारको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल विस्तारका लागि पुनः अध्ययन शुरु गरेको हो।

शुरुमा एक हजार ४० मिटर लम्बाइमा निर्माण गरिएको विमानस्थल करीब ५ वर्षअघि २०० मिटर विस्तार गरिएको थियो । हाल एक हजार २५५ मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको रन वेमा एटिआर–४२ तथा साना जहाजले उडान भर्दै आएका छन्।

कर्णाली प्रदेश सरकार गठन भएसँगै वीरेन्द्रनगर सङ्घीय राजधानी काठमाडौँसँग सिधा सम्पर्क जोडिएको हो। पुरानो विमानस्थल भए पनि धावन मार्गको समस्या देखाउँदै विमान कम्पनीहरु काठमाडौँ–सुर्खेत उडान भर्न तयार थिएनन्।

प्रदेश सरकारकै आग्रहबमोजिम बुद्घ एयरको एटिआर–४२ ले २०७५ वैशाखदेखि सुर्खेत–काठमाडौँ दैनिक उडान शुरु गरेको हो । एटिआर–४२ को एउटा मात्र उडानका कारण हवाई भाडा अत्यधिक महँगो पर्न गएको भन्दै कर्णालीवासीले विमानस्थल विस्तार गरेर ठूला जहाज सञ्चालन गर्न माग गरेका छन् ।

बुद्ध एयर र प्राधिकरणको टोलीले शुक्रबार विमानस्थलको प्रारम्भिक अध्ययन गरेको थियो । विमानस्थल उत्तर–दक्षिण दिशामा फैलिएको छ । विमानस्थललाई उत्तरतिर विस्तार गर्न सकिने अध्ययनले जनाएको छ ।

प्राधिकरणका इन्जिनीयर पुष्पराज न्यौपानेले उत्तरतर्फ रन वे विस्तार गर्न सहज हुने बताए। “जग्गा सस्तो र बढी उपयुक्त उत्तरतिर नै छ”, उनले भने, “१६ बिगाहा जग्गा अधिग्रहण गर्नुपर्नेछ ।” अध्ययन टोलीले विमानस्थल विस्तारका लागि रु आठ अर्ब बजेट आवश्यक पर्ने जनाएको छ।

रु पाँच अर्ब जग्गा अधिग्रहण, क्षतिपूर्ति र स्कूल स्थानान्तरण तथा रु तीन अर्ब रनवे विस्तार, तारबार, बत्ती जडानलगायत भौतिक संरचना निर्माणका काममा खर्च हुनेछ। सुर्खेत विमानस्थलमा आज आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले नयाँ निर्माणतिर लाग्नुभन्दा हालको विमानस्थललाई विस्तार गर्दा उपयुक्त हुने धारणा राखे।

“यही विमानस्थललाई बढाउनुको विकल्प छैन्, नयाँ बनाउँदा कम्तीमा पाँच वर्ष लाग्छ”, उनले भने, “जग्गा अधिग्रहण गर्दा आवश्यक पर्ने बजेट प्रदेश सरकार बेर्होन तयार छ, प्राधिकरणले भविष्यमा कुनै समस्या नआउने गरी प्राविधिक अध्ययन गरिदेओस् ।” वीरेन्द्रनगरका नगरप्रमुख देवकुमार सुवेदीले प्राविधिक रुपले स्पष्ट प्रतिवेदन आउनुपर्ने बताए। – रासस

प्रतिक्रिया दिनुहोस्