प्रदेश नम्बर ५ को हिउँदे अधिवेशन आजवाट



बुटवल: प्रदेश नम्बर ५ को प्रदेशसभा हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको कार्यसूची अनुसार दिउँसो १ बजे बैठक सुरु भएपछि प्रदेश प्रमुख उमाकान्त झाले अधिवेशन आह्वान गरेको पत्र प्रदेश सभामुख पूर्णबहादुर घर्तीले सुनाउनेछन् ।

 

करिब ४ महिनापछि हुन लागेको अधिवेशन कानुन निर्माणमा केन्द्रीत हुनेछ । आज प्रदेशसभामा कम्तीमा दुईवटा विधेयक पेस गरिने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको प्रदेश सरकारले ४ वटा विधेयक प्रदेशसभामा दर्ता गरिएको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

 

दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखले प्रमाणीकरण गरेका विधेयकसम्बन्धी पत्रहरु सभामुख घर्तीले पढेर सुनाएपछि दलको तर्फबाट  प्रदेशसभा बैठकमा सदस्यहरुले धारणा राख्नेछन् । नामाकरण र स्थायी राजधानी सम्बन्धी समितिको संयोजक चयन लगायत विषयमा सभामुखले सभालाई जानकारी गराउने प्रदेशसभा सचिव मगरले बताए । प्रदेश राजधानी र नामाकरणका विवाद टुङ्गो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्