नेकपा जागेपछि अर्घाखाँचीमा चहलपहल



शोभाखर पन्थी

अर्घाखाँची : पार्टी एकताको डेढ वर्ष प्राय सुनसान रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी कार्यालयमा चहलपहल बढेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्लामा एकताको काम सम्पन्न गरे सँगै जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता र शुभेच्छुकहरुको जमघट हुन थालेको हो ।

नेकपाले जिल्ला देखि टोल सम्म आफ्नो संगठनिक संरचना तयार गरेको छ । जिल्ला कमिटी, जिल्ला सल्लाहकार कमिटी ,क्षेत्रीय समन्वय कमिटी, नगर-गाउँपालिका, वडा कमिटी नेकपाका सक्रिय कमिटी हुन् । यसैगरी नेकपाले जिल्लाका विभाग र पार्टीका टोल कमिटीहरुलाई पनि सक्रिय पारेको छ । नयाँ कमिटीका नियमित बैठकहरु बस्ने, पार्टी योजना निर्माण गर्ने , जनता र कार्यकर्ताका गुनासा सुन्ने तथा विकासको कामको अनुगमन गर्ने लगायतका कामहरु भैरहेको नेकपाका सचिव ठाकुर कुमार बि।क। किशोरको भनाई छ ।

नेकपाले जिल्ला, गाउँपालिका, अधिकाम्स वडामा समेत पार्टी कार्यालय स्थापना गरेर जनतालाई सेवा प्रदान गर्दै आएको छ । पार्टी कार्यालय आउनेहरु मध्ये अधिकाशं पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा झिनोमात्रामा सर्वसाधारण हुनेगर्छन् । जिल्ला पार्टी कार्यालयमा दैनिक करिब १ सय ५० भन्दा बढीको जमघट हुनेगर्छ । अधिकाशं गाउँबाट सदरमुकाममा कामले आएका कार्यकर्ता, समर्थक, जिल्ला स्तरीय नेता हुन्छन् । अन्य पार्टीमा आस्था राख्नेहरु भने बिरलै देख्न पाईन्छ । पार्टी कार्यालयमा आउनेहरुले पार्टी प्रतिको चासो र चिन्ता लिने गर्छन् ।

विकास निर्माणको काम पार्टीको भावि योजना ,कार्यकर्ताको संरक्षण, रोजगारीका अवसर, ग्रामीण क्षेत्रमा भएका अनियमितता लगायत स्वयम आफ्नै राजनीतिक भविष्यको बारेमा पनि नेताहरूसंग चिन्ता लिने गरेको देखिन्छ । कार्यकर्ताले माथि देखि तल सम्म कमरेडको भावना हराउँदै गएको प्रती चिन्ता पनि गर्ने गरेका छन् ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम सन्धिखर्कमा भदौ ३१ र असौज १ गते संचालन हुने प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा ५ नं. प्रदेश कमिटीका ईन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेल, स्थायी कमिटीका सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, प्रदेश कमिटीका अध्यक्ष तथा पुर्व सभामुख ओनसरी घर्ती, प्रदेश कमिटीका सचिव जग प्रसाद शर्मा (अपार), केन्द्रीय सदस्य नजिर मियाँ, बोम बहादुर बि.क., शुशिला श्रीपाली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का (उज्वल) लगायतका नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको कार्यालय सचिव लिल बहादुर बि.क. ले बताए।

कार्यक्रममा जिल्ला कमिटीका सदस्य, जिल्ला सल्लाहकार, जिल्ला जेष्ठ कम्युनिष्ट मञ्च, क्षेत्रीय समन्वय कमिटी एवं पालिका कमिटीका पदाधिकारी र सबै सदस्यहरु, वडा कमिटीका अध्यक्ष र सचिव, जनवर्गीय संगठनका केन्द्रीय सदस्य तथा जिल्लाका पदाधिकारीहरु, पार्टी बाट निर्वाचित सबै जनप्रतिनिधिहरु समेत गरि करीब १ हजार २ सय जनाको सहभागीता रहने नेपाल कम्युनिष्ट पार्टी नेकपा स्कुल बिभाग प्रमुख पिताम्बर भुसालले बताए।

कार्यक्रममा पहिलो दिन पार्टी कार्यकर्ता तथा दोस्रो दिन जनप्रतिनिधिलाई प्रशिक्षण दिईने जनाइएको छ । पहिलो दिनको कार्यक्रम सन्धिखर्क सभाहलमा र दोस्रो दिनको कार्यक्रम नेकपा पार्टी कार्यालयको सभाहलमा संचालन गरिने प्रचार विभाग प्रमुख तिलक मिश्रको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्