अरबको तेल खानीमा आगलागीपछि आधाजसो तेल प्रशोधनस्थल बन्द हुने



काठमाडौं : साउदी अरबको सरकारी कम्पनी अरामकोका दुई मुख्य तेल प्रशोधनस्थलमा आगलागी हुँदा विश्वभर तेलको संकट हुने सम्भावना बढेको छ ।

उक्त स्थलमा ड्रोन आक्रमणका कारण आगलागी भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

अरामकोको सबैभन्दा विशाल तेल प्रशोधनस्थल अबकाइकमा आगोका ठूलो लप्का र धुँवा देखिएको थियो। सरकारी माध्यमका अनुसार स्थानीय समय अनुसार हिजो बिहान ती दुबै आगलागी नियन्त्रणमा आइसकेको बीबीसीले जनाएको छ ।

सो आक्रमणका लागि १० वटा ड्रोन प्रयोग गरिएको इराननिकट यमनका विद्रोही हुथी समूहका एक प्रवक्ताले बताएका छन् । बेरुतमा रहेको अल-मसिरा टीभीमा उनले थप आक्रमण समेत हुनसक्ने बताएका छन् ।

प्रवक्ता याह्या सारएले शनिवारको हमलालाई हुथी विद्रोहीहरूले साउदी अरबभित्र गरेको अहिलेसम्मकै ठूलो आक्रमणे र यो साउदी अधिराज्यभित्रकै प्रतिष्ठित व्यक्तिहरूको समन्वयमा गरिएको समेत बताएका छन् ।

तर यी आक्रमणहरू कसले गर्‍यो भन्नेबारे साउदी अरबले केही खुलाएको छैन।

क्षतिको विवरण आइनसकेको भए पनि समाचार संस्था एएफपीले साउदी आन्तरिक मामिला मन्त्रालयका प्रवक्तालाई उद्धत गर्दै त्यहाँ कुनै मानविय क्षति नभएको बताएको छ।

घटना पश्चात वालस्ट्रीट जर्नल पत्रिकाले साउदी अरबले आफ्ना आधाजसो तेल प्रशोधनस्थल बन्द गर्ने समाचार प्रकाशित गरेको छ।

प्रतिक्रिया दिनुहोस्