टीकापुर घटनामा ८५ जनाले दिए बकपत्र



धनगढी: टीकापुर घटनामा ८५ जनाले बकपत्र दिएका छन्। टीकापुर घटना भएको तीन वर्षपछि जिल्ला अदालत कैलालीमा वादी र प्रतिवादी पक्षका साक्षी बुझी बकपत्र गराउने काम आईतबार सकिएको हो।

 

वादीतर्फको वकालत गरिरहेका अधिवक्ता गजेन्द्र केसीले साक्षी बकपत्रको कार्य सकिएको जानकारी दिए। बकपत्र सकेपछि मुद्दा तुरुन्तै पसीमा जाने उनले जानकारी दिए। तर सक्कल मिसिल उच्च अदालत काठमाडौं पठाइएको छ।

 

जिल्ला अदालत कैलालीले भदौं २४ गतेदेखि नियमित साक्षी वकपत्रका लागि उपस्थित गराएको थियो।

 

बकपत्रमा वादीपक्षका ३५ र प्रतिवादी पक्षका ५० जना गरी ८५ जना साक्षी अदालतमा उपस्थित भएका थिए। टीकापुर घटनाको मुद्दा प्रक्रियामा गइसकेकोले अब छिट्टै किनारा लाग्ने सम्भावना रहेको अधिवक्ता केसीको भनाई छ।

 

२०७२ भदौ ७ गते भएको टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका अभियुक्तलाई जिल्ला अदालत कैलालीले भाद्र २४ गतेदेखि साक्षी बकपत्रको लागि उपस्थित गराएको थियो।

 

घटनाको अभियोगमा सांसद रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका लागि कारागार चलान गरिएका छन्।

 

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा एक नाबालकसहित ८ प्रहरीको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्