सुरु भयाे प्रदेश ५ अधिवेशन, सांसदले गरे सरकारी कार्यशैलीकाे अालाेचना



कपिलवस्तु : प्रदेश ५ प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको छ। अधिवेशन सुरु भएसँगै सरकारले दुईवटा विधेयक पेस गरेको छ।

 

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ संघसंस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरे। मन्त्री केसीले चालु अधिवेशनमा पेस भएका विधेयक प्रदेशको भविष्य निर्धारणका लागि महत्वपूर्ण हुने बताए।

 

दक्ष र पर्याप्त जनशक्ति नभए पनि प्रदेश सरकारले कानुन निर्माणमा जोड दिइएको उनले बताए। उनका अनुसार अहिले सरकारले प्रदेशसभालाई बिजनेस दिनका लागि सरकारले धमाधम मस्यौदा तयार गरिरहेको बताए।

 

प्रदेशसभाले प्रदेश नम्बर ५ को नामकरण र स्थायी राजधानी सम्बन्धी विशेष समितिले प्रतिवेदन बुझाउने समय ३ महिना थप गरेको छ। प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गर्न समितिले माग गरेको प्रस्ताव पेस गरेका थिए। सभाले ३ महिना समय थप गर्ने प्रस्ताव पास गरेको हो।

 

प्रदेशसभाको हिँउदे अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारका गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। उनीहरुले प्रदेश सरकारका काम सुस्त भएको भन्दै सुझाव लिएर काम गर्न ध्यानाकर्षण गरे ।

 

बैठकमा प्रदेशसभा सदस्यहरु भूमिश्वर ढकाल, तुलाराम घर्तीमगर, डिल्ली चौधरी, रामजीप्रसाद घिमिरे, कुलप्रसाद पोखरेल, भगवतीदेवी भण्डारी, तारा जिसी, भुवनेश्वर चौधरी, कल्पना पाण्डे, इन्द्रप्रसाद खरेल, विष्णुप्रसाद पन्थी, गीता थापा, सन्तोषकुमार पाण्डे, कृष्णध्वज खड्कालगायतले बोलेका थिए। प्रदेशसभाको अर्को बैठक पुस ८ गते बस्ने तय भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्