जहाँ बालकलाई मन्दिरमा चढाइन्छ



काठमाडौं : संघीय राजधानी काठमाडौंमा नेवार समुदायकी बालिकालाई कुमारीका रुपमा मन्दिरमा राख्ने चलन सुन्दै र देख्दै आएपनि नाबालकलाई मन्दिरमा चढाउने कुरा चाहि नौलो र अचम्म लाग्न सक्छ । तर, दैलेखको एक गाउँको मन्दिरमा भने नाबालकलाई मन्दिरमा चढाउने परम्परा छ । जसलाई स्थानीय भाषामा मन्दिरमा चढाइएको नाबालकलाई ‘देउकेटा’ भनिन्छ । अहिले यो मन्दिरमा जीवन गिरी ‘देउकेटा’ को रुपमा छन् ।

जीवन ‘देउकोटा’ हुनुअघि उनको जेठो दाजु प्रेमदेव र माइला दानु चन्द्रदेव देउकेटा थिए । जीवनकै परिवारबाट देउकोटा राख्ने चलन रहेकोले जीवनपछि उनका कान्छो भाई लक्ष्मणको पालो आउने छ । समाजमा कलंकको रुपमा रहेको परम्परागत देउकी प्रथा हट्दै गए पनि दैलेखमा भने ‘देउकेटा’ प्रथा कायमै छ ।

दैलेखको तल्लो डुंगेश्वरस्थित सिद्धेश्वर महादेवको मन्दिरमा बालक चढाउने परम्परा अहिले सम्म कायमै रहेको छ । यसरी मन्दिरमा चढाइएको बालकबाट टिका र आर्शीवाद ग्रहण गरेका आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तल्लो डुंगेश्वरस्थित शिद्धेश्वर महादेव मन्दिरमा यसरी देउकोटा चढाउने परम्परा वर्षौ पुरानो हो ।

पुर्खाको परम्परा अनुसार परिवारले नै चढाएपछि आफू मन्दिरमा बस्न बाध्य भएको ‘देउकोटा’ जीवन बताउँछन् । उनले मन्दिरको पूजाआजा गरिसकेपछि स्कुल समेत जाने गर्छन् । आफ्नो आमाबुबाको आदेशमा देउकोटा बसेका उनलाई देउकोटा बस्नभने मन छैन ।

त्यसोत मन्दिरमा मंगलबार र शनिबार विशेष पूजा हुने हुँदा मंगलबार उनी स्कुल जान पाउँदैनन् । जसले गर्दा उनले आफ्नो मन खिन्न हुने गरेको बताउँछन् । मन्दिरको पूजापाठबाट संकलित दानदक्षिणाबाट देउकेटाका परिवारले घर खर्च चलाउँदै आएका छन् ।

मन्दिरको भेटीले देउकोटाको नौ जना परिवारको घर खर्च चल्दै आएको छ । जीवनका बुबा खड्गदेव गिरी भन्छन्–‘यो हाम्रो बाउबाजे देखि चलिआएको रिति हो । हाम्रो आफ्नो परम्परा चटक्क छोड्न मिल्दैन् । परम्परा संरक्षणका लागि पनि छोरो मन्दिरमा चढाएको हुँ ।’

मन्दिरमा देउकेटाले नुहाइसकेपछि अरुलाई छुन र अरुले पकाएको खान नहुने मान्यता रही आएको छ । देउकेटा बनाउँदा कुमार केटोलाई विधिपूर्वक ब्रतबन्ध गराएर राख्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्