टी–२० विश्वकप छनोट : १४ सदस्यीय राष्ट्रिय टिम घोषणा, सागर र सुनील वैकल्पिकमा



फाइल तस्बिर

काठमाडौं:  सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको पहिलो चरणको छनोट प्रतियोगिताका लागि नेपालले १४ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ।

 

असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा राष्ट्रिय टिम घोषणा गरिएको हो।

 

प्रारम्भिक टिममा परेका सुनील धमाल र सागर पुन वैकल्पिक खेलाडीमा धकेलिएका छन्। यस्तै दीपेश श्रेष्ठ र सहाब अलाम पनि अन्तिम टिममा पर्न सकेनन्। प्रदीप ऐरीले भने सिनियर टिममा स्थान पाएका छन्।

 

यसअघि मध्यक्रमक ब्याट्सम्यान रोहितकुमार पौडेल एसिसी यू–१९ एसिया कपका लागि नेपालको युवा टिमबाट प्रतिनिधित्व गर्न जाने भएकाले राष्ट्रिय टिममा परेका थिए।

 

नेपालले १० दिन अभ्यास गरेपछि राष्ट्रिय टिम घोषणा गरेको हो। नेपाली टिम सोमबार दिउँसो मलेसिया जाने कार्यक्रम छ।

 

पहिलो चरणको छनोटमा नेपालसहित ७ टिमले भाग लिँदैछन्। एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।  राउन्ड रोबिनको आधारमा हुने  प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।

 

यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्। 


नेपाली टिम

पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी,  विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी

वैकल्पिक खेलाडी– सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ, सागर पुन


पहिलो चरणको छनोटमा नेपालको खेल 

असोज १७– नेपाल भर्सेस म्यानमार– किनरारा ओभल 

असोज २०– नेपाल भर्सेस मलेसिया– किनरारा ओभल

असोज २१– नेपाल भर्सेस थाइल्यान्ड– किनरारा ओभल

असोज २३  – नेपाल भर्सेस भुटान– बायुमास ओभल 

असोज २४– नेपाल भर्सेस चीन– किनरारा ओभल

असोज २६– नेपाल भर्सेस  सिंगापुर– किनरारा ओभल

प्रतिक्रिया दिनुहोस्