साङ्ले कार्वाहीमा नुवाकोटका डोजर तथा एक्स्क्याभेटर



काठमाडौं : नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खनन् गरिरहेका डोजर तथा एक्स्क्याभेटर प्रहरीको साङ्ले कार्वाहीमा परेका छन् । अवैध उत्खनन्मा प्रयोग गरिएका ती डोजर तथा एक्स्क्याभेटर नाकमा साङ्लाको नत्थी लगाएकाले स्थानीयहरुले ‘जुंगे’ डोजर र एक्स्क्याभेटर नाम दिन थालेका छन् । हाल नदीमा ठण्डाराम यस्ता जुँगे डोजर÷एक्स्क्याभेटर २ दर्जन जतिको संख्यामा रहेका छन् ।

नदी किनारमा अवैध उत्खनन् गरेर बालुवा निकालिरहेका यी ठूला उपकरणहरु ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को छड्के निरीक्षणमा परेका हुन् । साङ्लाले बेरेर ताल्चा लगाइएका यी ठूला उपकरणहरुको साँचो जिल्ला समन्वय समितिलाई बुझाइएको छ ।

नुवाकोटका त्रिशूली, तादी, लिखु, कोल्पुलगायतका खोलामा अवैधरूपमा बालुवा झिक्न प्रयोग गरिएका डोजरहरु नियन्त्रणमा आएपछि बालुवा ढुंगा निकाल्न सक्रिय समूह त्यहाँबाट टाप कसेको बताइएको छ ।

साङ्ले कार्वाहीमा परेका यी उपकरणलाई रु. ५० हजार जरिवाना तोकिएको छ । यसका साथै अवैधरूपमा उत्खनन गरेर थुपारिएका नदीजन्य सामग्री सम्बन्धित स्थानीय तहले जफ्त गर्ने निर्णयसमेत गरिएको छ । निर्णय कार्यान्वयनका लागि विदुर र बेलकोटगढी नगरपालिका तथा ताँदी, पञ्चकन्या, लिखु, किस्पाङ र तारकेश्वर गाउँपालिकालाई निर्देशन पनि गरिसकिएको छ ।

आश्चर्यको विषय त के भएको छ भने निर्वाचित जनप्रतिनिधिहरु नै यो अवैध कार्यमा संलग्न रहेका छन् । जनप्रतिनिधिको संरक्षण र संलग्नताका कारण स्थानीय स्रोत दोहनकर्ताहरु ढुक्क भएर काम गरिरहेका देखिनछन् ।

प्रतिक्रिया दिनुहोस्