भैरहवा हत्या प्रकरण : हत्यारा पत्ता नलागे आन्दोलन गर्ने चेतावनी



भैरहवा : रुपन्देहीमा गोली प्रहारबाट हत्या गरिएका ओमसतिया गाउपालिका ५ निवासी ४० वर्षीय महेन्द्र चौधरीका हत्यारा दुई दिन भईसक्दा पनि अझै पत्ता लगाउन सकेका छैन ।

श्रीमति र छोरा सहित मोटरसाईकलमा चढेर भैरहवाबाट घरतर्फ जाने क्रममा हिजो आईतबार दिउसो करिव साँढे २ बजेतिर अज्ञात समूहको गोली प्रहारबाट चौधरीको हत्या भएको थियो ।
हात, खुट्टा र ढाडमा गरी तीनओटा गाली लागेका चौधरीको घटनास्थलमै मृत्यु हुन पुगेको थियो । उनको घटानास्थलमै मृत्यु भएपनि सँगै रहेका उनकी श्रीमति र छोरा भने सकुशल छन् ।


सँगै रहेकी उनकी श्रीमती विजयलक्ष्मी चौधरीका अनुसार हिमालयन बैंकबाट रकम निकालेर घर जाने क्रममा भैरहवादेखि करिब ५ किलोमिटर दूरीमा पूर्वतर्फ पर्ने भैरहवा–भुमही–परासी सडकखण्डको बैकुण्ठपुरमा लुटेरा समूहले उनीमाथि गोली हानेका थिए। सुरुमा सडक किनारामा गोली हानेर मोटरसाइकल पल्टिएपछि भागेर बाँच्न खोज्दै नजिकैको घरभित्र पस्न खोज्दा च्यानल गेटअघि नै महेन्द्रमाथि गोली प्रहार भएको थियो ।

भैरहवा रोहणी गाउपालिका ३बैकुण्ठपुर र ओमसतिया गाउपालिका यतिखेर शोकमा डुबेको छ ।


चौधरीलाई गोली लागेपछि मोटरसाइकल सडक किनारामा ढलेको थियो। उनीसँगै मोटरसाइकलमा रहेका श्रीमती र छोरा सडक किनारामा ढलेका थिए।

गोली प्रहारको घटनापछि चारै तर्फका सीमा नाका तथा अन्य सम्भावित स्थानमा चेकजाँच कडा पारिएको रुपन्देही प्रहरीले जनाएको छ।

प्रहरीले भैरहवामा राखिएका ८ वटा सिसिटिभी क्यामेराको फुटेज संकलन गरेर अनुसन्धान थालिएको र केही जानकारी फेला पारिएको जनाएको छ । प्रहरीले भारतीय मुलका जस्ता देखिने ती लुटेराको पहिचानका लागि अनुसन्धान जारी राखेको बताएको छ ।

चौधरीको हत्यारा पत्ता लगाउन स्थानीयले दवाव दिदै पत्ता नलागे कडा आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्