विद्यालयमा डेङ्गु रोकथाम अभियान



धनगढी : डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि विद्यालयमा अभियान शुरु गरिएको छ। यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ ।

टोल, बस्ती र विभिन्न विद्यालयमा समेत क्लबका बालबालिकाले उक्त अभियानअन्तर्गत नाटक प्रदर्शन गर्ने योजना बनाएका छन् । अभियानलाई रोटरी क्लब अफ धनगढीले सहजीकरण गरिरहेको क्लबका अध्यक्ष हरिशङ्कर ठाकुरले बताए।

वरिष्ठ चिकित्सक डा गणेशबहादुर सिंहले डेङ्गु रोकथामको उपाय र अभियानबारे जानकारी गराइरहेका छन्। विभिन्न स्वास्थ्य संस्थाले आवश्यक देखिएका ठाउँमा डेङ्गुको सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा मार्न ‘सर्च एण्ड डिस्ट्रवाई’ अभियान चलाएका छन् ।

स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ । सुदूरपश्चि प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै ८८ स्थानीय तहमा डेङ्गु रोकथामका लागि सहजीकरण गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा आजसम्म २८ जना डेङ्गुका कारण सङ्क्रमित भएकामा डोटीमा एक जनाको मृत्यु भएको छ। सबैभन्दा बढी कैलालीमा १५ जना संक्रमित छन् । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा डेङ्गु सर्छ ।

घर वरिपरिका डब्बा, थोत्रा वा पुराना टायर, खाली राखिएका ड्रम, फुलदानी, गमला र अन्य भाँडामा भरिएको पानीमा यो जातको लामखुट्टेले फुल पार्छ बर्खायाममा जताततै पानी जम्ने हुँदा लामखुट्टेका कारण डेङ्गु फैलिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

मानिसमा एक्कासि ज्वरो आउनु, हड्डी र मांसपेशी दुख्नु र बिमिरा देखिनु, रक्तस्राव हुनु, वाकवाकी लाग्नु, टाउको दुःख्नु यसका मुख्य लक्षण हुन् । यो रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो ।

लामखुट्टेको वृद्धि रोक्नका लागि घर वरिपरि सरसफाइका साथै पानी भरिएका भाँडावर्तन नराख्न स्वास्थ्यकर्मीको सुझाव छ । – रासस

प्रतिक्रिया दिनुहोस्