के हो – सिस्नो खोस्ने पर्व ?


बागलुङ : ‘रुनासुङ्गे, पुसापु, घुँयाली..’ गीत गुञ्जिइरहेको छ। एकनास बजिरहेछ, ढ्याङ्ग्रो। बारीको देउता पूज्ने ढुङ्गा छेउ टुक्रुक्क बसेका छन्, ८० वर्षीय गुरुबा जङ्गबहादुर रोका । रनवन पुकार्दै उनी गीत भट्याउछन्, अरु गला मिलाउँछन् । ढ्याङ्ग्रोको तालमा गाइने उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ ।

यी शब्द र दृश्य ताराखोला गाउँपालिका–४ तारागाउँको परम्परागत ‘भदोरै सिस्नो खोस्ने पर्व’को हो । पर्वको वर्णन यत्तिकैमा सकिन्न । कथा लामो छ । पूजा र बली दिने ढुङ्गा जसलाई गाउँलेले डम्मरु (उखुरधुम) भन्छन्, त्यसकै आडमा कटुस र अम्रिसोको लिङ्गो गाडिएको छ ।

लिङ्गोलाई स्थानीय भाषामा ‘सितम सेउला’ र ‘बजा सल्ला’ भन्ने गरिन्छ । लिङ्गोमुनि पूजा, धूपबत्ती चलिरहेको छ । गुरुबासँगै पूजारीले बीचबीचमा सगुन पिइरहेका छन् । गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ । गाउँका साँध सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ।

गीतलाई बूढापाकाले बाचा बाँधेको रुपमा पनि लिन्छन्। खाम भाषामा गाइने भएकाले जो कोहीलाई गीत बुझ्न कठिन पर्छ। पुर्खा कुलपितृ र देवीदेवतालाई गीतबाटै घुमाएर कुल (हेम्थो) घरमा ल्याएर राखिन्छ । वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगोको बली दिने बेला हुन्छ । बली दिँदा ढ्याङ्ग्रोको ताल पनि फर्कन्छ ।

जिउँदो राँगोको सात करङ भाँचेपछि मुटु निकालेर कुल घरको सिरानमा चढाउने परम्परा छ । बिहान ४ बजे राँगोको बली दिएपछि पुनः ढ्याङ्ग्रोको तालमा गीत (वन गन्ने) शुरु हुन्छ । गीतबाट घुमाइफिराइ पितृलाई कुल घरमा ल्याएपछि दिउँसोपख सुँगुरको बली दिने बेला हुन्छ ।

कुल घरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम) ढुङ्गामा सुँगुरको बली दिइन्छ । उल्टो पारेर लिङ्गोमा झुण्डाइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटुपनि झिकेर लिङ्गोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बली दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी शुरु हुन्छ ।

बली दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ । एकाथरी ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवा जमात हुन्छन् । समूहमा ‘आयो, आयो..’ भन्दै गीत गाउने गरिन्छ ।

बारीको पल्लो छेउ मौलिक वेशभूषामा सजिएर सिस्नो खोस्न तम्तयार युवतीहरु हुन्छन् । हातमा सिस्नो समातेका युवकहरु युवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन् युवतीहरु । अनि शुरु हुन्छ तानातान र खोसाखोस ।

यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ। कोही घोडा र शिकारीको भेषमा नाचिरहेका हुन्छन्, कोही सारङ्गी बजाउँदै हिँड्छन् । ढ्याङ्ग्राको ताल झन्झन् जोडले बज्न थाल्छ । युवायुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । जसले जितेपनि सुँगुरको साँप्रोको मासु प्रसादका रुपमा सबै मिलेर खान्छन् ।

युवतीले जिते युवकहरुले दण्ड तिर्नुपर्ने चलन छ । यसरी नै वर्षौँदेखि तारागाउँका मगर समुदायले भदोरै सिस्नो पर्व मनाउँदै आएका छन् । यसपालि पनि चार दिनसम्म चलेको पर्वलाई गाउँलेले मङ्गलबार बिदा गरे । “भदोरै हाम्रा शाखा, पुर्खा यहाँ आउँदा लिएर आएको पर्व हो,” गुरुबा रोकाले भने – “यो गाउँलेको पूजा हो । गाउँलाई राम्रो होस् भनेर गरेको हो ।”

हरेक दुई वर्षको फरकमा भदौ शुक्ल पक्ष ९उजेली पक्ष० पारेर भदोरै पर्व मनाउने गरिन्छ । शनिबारदेखि शुरु हुने पर्वलाई मङ्गलबार अन्त्य गर्ने परम्परा रहेको स्थानीयवासी रविन घर्तीले बताए।। पहिलो दिन गाउँका बूढापाकाले र दोस्रो दिन अविवाहित युवायुवती तथा बूढापाका मिलेर बाटो सरसफाइ गर्ने चलन छ ।

यस्तै, तेस्रो दिन सोमबार तारागाउँको सरसफाइ गरेपछि भिस्टल्ला भन्ने ठाउँमा मही चढाउने, बाँड्ने र खाने गरिन्छ । सोही ठाउँमा पहिले लेकबाट आएका गोठालाले ठेकीमा नौनी घिउको बिर्को लगाएर मही लिएर आउने गरेको स्थानीयवासी बताउँछन् । “सोमबार साँझदेखि पूजापाठ शुरु हुन्छ र मङ्गलबार बेलुका पर्व सकिन्छ,” घर्तीले भने।

सोमबार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम हेम्थो (कुल) घरकै भित्र हुन्छ । राँगोको बली पनि कुल घरकै आँगनमा दिने गरिन्छ । स्थानीयवासी रिमबहादुर घर्तीको घरलाई गाउँलेले कुल घर मान्दै आएका छन् । घर्तीका बुबा मुखिया भएकाले सोही घरलाई पछि कुल घरका रुपमा लिइएको हो ।

पर्वको अन्तिम दिन मङ्लबार भने पूजापाठ, बली, सिस्नो खोस्ने काम कुल घरकै पछाडिको बारीमा हुन्छ । अन्तिममा कुल घरकै आँगनमा सिस्नो खोसेपछि भदारै पर्वको अन्त्य हुन्छ । यसपालि भदोरै पर्वलाई व्यवस्थित रुपमा सञ्चालन गरिएको मगर समाजका अध्यक्ष झकबहादुर घर्तीले बताए।

“भदोरै सिस्नो खोस्ने पर्व हाम्रो ऐतिहासिक पर्व हो, यसको जगेर्ना हुनुपर्छ भनेर हामी लागिपरेका छौँ,” उनले भने। पर्वको आयोजना र व्यवस्थापन मगर समाज तारागाउँले गरेको थियो । छिमेकी गाउँहरुबाटसमेत पर्व अवलोकन गर्न आउने मानिसहरुको घुइँचो लागेको थियो ।

ताराखोला गाउँपालिका–४ र ५ को साझा पर्वका रुपमा भदोरै सिस्नो खोस्ने पर्वलाई लिइएपछि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग जोडिएको छ। कुलपितृको उद्धार, गाउँलेको भलो होस्, सुख, ऐश्वर्य मिलोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै भदोरै पर्व मनाउने गरिन्छ ।

झण्डै ३०० वर्षअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पूर्वजले पर्वको प्रचलन बसालेका थिए । गाउँलेले पर्वलाई पुर्खाको नासोको रुपमा लिन्छन् । पर्व जोगाउन बूढापाकादेखि युवा पुस्ताको सक्रियता र सहभागिता रहँदै आएको छ ।

पहिलोपटक सिस्नो खोस्ने खेलमा सहभागी भिमा घर्तीले मौलिक संस्कृति र परम्पराको संरक्षणमा युवा पुस्ता अग्रसर हुनुपर्ने बताए । सिस्नो खोस्ने पर्वले युवायुवतीबीच भेटघाट हुने, आत्मीयता बढाउने अवसरका रुपमा पनि लिइन्छ ।

सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ । ताराखोला गाउँपालिका–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कुल पूजाका अवसरमा सिस्नो खोस्ने पर्व मनाइन्छ ।

सिस्नो खोस्ने, भुस पोल्नलगायतका मेला र पर्व ताराखोला गाउँपालिकाका ऐतिहासिक संस्कृति हुन् । मौलिक संस्कृति र परम्परा संरक्षणका लागि गाउँपालिकाले सघाउने अध्यक्ष प्रकाश घर्तीले बताए।

“मौलिक संस्कृति, पर्व र मेला ताराखोलाका पहिचान हुन्,” उनले भने – “स्थानीयवासीसँग मिलेर संरक्षणको काम अघि बढाउँछौँ ।”

गाउँपालिकाले ‘बहुसाँस्कृतिक सङ्ग्रहालय’ निर्माणको योजना पनि अघि सारेको छ । कला, संस्कृति, रहनसहन, मनोरम भूगोल, स्थानीय उत्पादनलगायतले चिनिएको गाउँपालिकाले विसं २०७७ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । ताराखोला मगर बाहुल्य गाउँ हो । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी

फाइल फोटो काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) म्यानमार प्रस्थान गरेकी छिन् । म्यान्मा

काठमाडौ : आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको वैठक सकिएको छ । पार्टी एकताको बाँकी

फाइल फोटो काठमाडौं : म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी

भक्तपुर : देशैभर आउदो मंसिर १४ गते दो्रोतहको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने भएपछि देशैभर

काठमाडौं : पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं : नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी

काठमाडौ : सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ परेका छन् ।

धनुषा : हिजो सोमबार जहाज आउन ढिला भएको भन्दै जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोडमा

काठमाडौं : भारतीय क्रिकेट वोर्डको अध्यक्षमा क्रिकेटका पूर्व कप्तान सौरभ गंगुली नियुक्ति भएकै भोलीपल्ट नेपालका

काठमाडौं : संसद सचिवालयकी कर्मचारी माथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्ण बहादुर

काठमाडौं : विद्यालय जाने क्रममा मुस्कान खातुनमाथि एसिड आक्रमणमा गर्ने दोषीहरुलाई जोगाउन चलखेल भइरहेको छ