मान्छेको टाउकोमा उम्रियो सिंग



एजेन्सी : भारतको मध्य प्रदेशस्थित सागर जिल्लामा रहेको रहली गाउँमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउकोमा सिंग उम्रेको छ । हालै त्यस सिंगलाई शल्यक्रिया गरेर हटाइएको छ । केही वर्षअघि शिरमा चोट लागेपछि सिंग निस्केको यादवले बताए । 

सिंग उम्रिएपछि केही समय त यादवलाई असहज भयो तर पछि गएर बानी पर्‍यो । उनले सिंग काटे पनि फेरि उम्रिने गरेको थियो । चिकित्सकहरूलाई देखाउँदा कसैले उपचार गर्न सक्दैनौं भने अनि कसैले चाहिँ उपचार महंगो छ भने । 

सागरको भाग्योदय तीर्थ अस्पतालमा चिकित्सकहरूको टोलीले यादवको टाउकोको सिंग काटेर फाले । शल्यक्रिया गर्ने चिकित्सकहरूको टोलीको नेतृत्वकर्ता डा विशाल गजभियेले यादवलाई दुर्लभ सेबासियस होर्न नामक रोग लागेको बताए । त्यसलाई बोलीचालीको भाषामा डेभिल्स होर्न भनिन्छ । 

सिंग धेरै गहिरो नगाडिएको थाहा पाएपछि शल्यक्रिया गरेको डा गजभियेले बताए । केही घन्टाको शल्यक्रियापछि श्यामलाल यादवले सिंगबाट छुटकारा पाए । यस केसलाई इन्टरनेसनल जर्नल अफ सर्जरीमा प्रकाशित गर्नका लागि पठाइने किनकि यस्तो केस कहिले पनि नआएको डा. गजभियेको कथन छ ।

प्रतिक्रिया दिनुहोस्