पाकिस्तानमा गधाको मेला, बिक्दैछन् ‘एके–४७’ र ‘एटम बम’



एजेन्सी : पाकिस्तानमा गधाहरूको मेला लागेको छ । गधाको नाम खतरनाक हतियार तथा हिन्दू र मुसलमानका चर्चित नामका आधारमा राखिएको छ । 

पाकिस्तानको हैदराबाद शहरबाट ७० किलोमिटर पर बादिन जिल्लामा यो मेला लागेको हो । मेलामा भाग लिनका लागि पाकिस्तानका अनेकौं जिल्लाबाट व्यापारी पुगेका छन् । उनीहरू गधा खरिदबिक्री गरिरहेका छन् ।

मेलामा बिकिरहेका गधाहरूको नाम एके–४७, रकेट लोन्चर, एटम बम, शीला, माधुरी, दिलपसन्द राखिएको छ । गधा फरक फरक रंगका छन् । केही सेता, केही खैरा र केही काला छन् । त्यसबाहेक पोथी गधी पनि बिकिरहेका छन् । गधाहरू लासी, लारी, इरानी र थारी प्रजातिका हुन् । 

गधाहरूको मूल्य ३२ हजारदेखि साढे ३ लाख रुपैयाँसम्म छ । तर गधाको चर्को मूल्यका कारण किन्ने मानिस कम छन् । विगत ७० वर्षदेखि मेला लाग्दै आएको छ ।

पाकिस्तानमा गधाको संख्या बढी छ । अधिकांश गधा चीनतर्फ निर्यात गरिन्छन् । गधा मारेर चीनमा औषधि बनाइने गर्छ । गधाको छालाले रोगप्रतिरोधक क्षमता र रक्तवर्द्धक औषधि बनाइन्छ ।

गधा विकासका लागि पाकिस्तानले लगानी गर्ने भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा गधाहरूको प्रजननका लागि चीनले लगानी गर्नेछ । त्यहाँ गधा विकास केन्द्र खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस्