राजेश्वर नेपाली : नेपाली पत्रकारिताको जिउँदो इतिहास



जनकपुरधाम : समाचार लेखेकै कारण पञ्चायतकालमा उनी तीन पटक त जेलै परे । राननीतिक पृष्ठभुमि भएको घरपरिवारकै प्रेरणाले पत्रकारीता थालेका उनले सक्रिय पत्रकारीता गरेको ५९ बर्ष पुगेको छ ।
३६ बर्ष अघिबाट उनले जनकपुरबाट प्रकाशन सुरु गरेको लोकमत साप्ताहिक ‘क’ श्रेणीमा बर्गिकृत छ । हो , नेपाल पत्रकार महासँघबाट स्वतन्त्र सेनानीको सम्मान समेत पाएका ७४ बर्षीय तिनै राजेश्वर नेपाली नेपाली पत्रकारीता क्षेत्रको जिउँदो इतिहास हुन् ।
तर उनी अहिलेको पत्रकारिताबाट सन्तुष्ट छैनन् । द नेपालटपसगँको भेटमा उनले नेपाली पत्रकारिता विकृत बन्दै गएकोप्रति दुख ब्यक्त गर्दै भने – अहिलेका पत्रकारले शोषित पिडितको पक्षमा लेख्न छाडे , चाकडी र कमाउ पत्रकारिता हाबि हुँदै गएको आभास हुन्छ ।
१९९२ सालमा उनको बुवा लगायत २२ जनाले राणा शासन विरुद्ध लड्ने प्रतिज्ञा गरे जनकपुरमा । र पहिलो चोटी उनले यहि बिषयमा समाचार लेखे पट्नामा छापिने नेपाली पत्रिका नेपाल सन्देशमा । उनको समाचारले देशभर खैलाबैला मच्चायो । अनि उनी नेपाली कांग्रेसले गर्ने राणा विरोधी गतिविधीबारे निरन्तर समाचार लेख्न थाले ।
उनले लेखेको अर्को समाचारले पनि देशमा हंगामा मच्चायो , त्यो समाचार थियो राजा महेन्द्रले २०१७ सालमा कु गरेपछि कांग्रेसले सुरु गरेको सत्याग्रह सम्बन्धि । दुर्गा प्रसाद खवारे सम्पादक रहेको नेपाल सन्देशमा छापिएको उनको उक्त समाचारले कांग्रेसले सुरु गरेको सत्याग्रह भारतमा समेत चर्चाको बिषय बन्यो । उनि त्यसबेला शोषित पिडितको पक्षमा कलम समाचार बनाएर कांग्रेसको क्रान्तिबारे सबैलाई जानकारी गराउँथे । एक किसिमले त्यतिबेला उनले राजनीतिक मिशन पत्रकारिता गरेका थिए ।
कांग्रेसको राजनीतिबाट प्रभावित उनलाई २०१७ सालमा राजा महेन्द्रले कु गरेपछि बिघटन भएको संसदका सदस्य सरोज प्रसाद कोईरालाले प्रजातन्त्र पुनस्र्थापनाका लागि हतियारबन्द आन्दोलनमा सहभागी बन्न खुबै जोड गरेका थिए । तर आफू गान्धिवादी दर्शनबाट प्रभावित भएको भन्दै हतियार उठाएर होईन कलम चलाएर आन्दोलनमा सहभागी बन्छु भनेर जवाफ दिए अनि लागे सक्रिय पत्रकारितामा ।
पट्नाबाट छापिने नेपाल सन्देशबाट पत्रकारिता थालेका उनले काठमाण्डौबाट प्रकाशन हुने दैनिक नेपालमा समेत काम थाले । त्यतिबेला दैनिक नेपाल चर्चित दैनिक पत्रिका थियो । केही समय दैनिक नेपालमा काम गरेपछि उनले नेपाली हिन्दी भाषामा प्रकाशन हुने नेपाल टाईम्समा जनकपुरबाट समाचार लेख्न थाले ।


उतिबेला समाचार लेखेबापत एक रुपैयाँ पैसा पनि पाईदैन थियो , द नेपालटपसगँ गफिदै नेपालीले तत्कालीन पत्रकारिताको अवस्थावारे भने , समाचार लेखेर हुलाकबाट पठाउनु पथ्र्यो , प्रहरी प्रशासनले खुवै निगरानी गर्ने भएकाले उनिहरुलाई छलेर समाचार खोज्ने , लेख्ने र पठाउने गर्नु पथ्र्यो ।
२०२० सालमा भने उनि राष्ट्रिय समाचार समितिको धनुषा सवांददाता बने । राससले भने एउटा समाचारको ३ रुपैयाँ देखी १० रुपैया सम्म पारिश्रमिक दिन्थ्यो , नेपालीले सुनाए । राससमा पुरानो समाचार हुलाकबाट पठाए पनि ताजा समाचार भने टेलिग्राफबाट टिपाउने चलन थियो उतिबेला । राससबाट महिनाको ९० रुपैयाँ सम्म पारिश्रमिक थापेको सुनाउँदै भन्छन् , त्यतिबेलाको समयमा ९० रुपैयाँ भनेको ठुलो रकम थियो ।
२०४० सालमा भने उनले आफ्नै नाममा साप्ताहिक पत्रिका दर्ता गरे । आफू निकटका नेता र शुभचिन्तकहरुको रायसल्लाहमा पत्रिकाको नाम जुराए , लोकमत । पत्रिकाको १८ अंक निस्किएपछि पञ्चायत सरकारले उनको पत्रिका दर्ता खारेज गर्यो । यस विरुद्ध सर्बोच्च अदालतमा उनले मद्धा हाले , सर्बोच्चले मुद्धा जिताईदियो । २०४३ सालबाट पुनः लोकमत प्रकाशन सुरु भयो , जुन पत्रिका अहिले सम्म जनकपुरबाट निरन्तर प्रकाशन भईरहेको छ ।
समाचार लेखेकै कारण २०३६ , २०३९ र २०४२ सालमा उनलाई तत्कालिन ब्यवस्थाले जेल हाल्यो । तर उनले पत्रकारिता छाडेनन् । २०३६ र २०३९ सालमा क्रमशः एक र डेढ महिना जेल बसेका उनी २०४२ सालमा भने एक बर्ष जेल बस्नु पर्यो । उनी जेलजीवन सम्झन्छन् , जेलभित्र नेल लगाएर राखिन्थ्यो , बन्दुकको कुञ्जाले पिटिन्थ्यो । जेल भित्र म लगायत धेरै नेता हुन्थ्यौँ , रातको अन्धकारमा पञ्चायत मुर्दावाद भनेर नाराजुलुश लगाउँथ्यौँ । पुलिसहरु आएर अँध्यारोमै जसलाई पायो उसलाई बुटले भकुर्थे ।


अभाबविच निरन्तर पत्रकारिता गरेका उनलाई पद्मानन्द ट्रष्टले जनकपुर अञ्चलकै उत्कृष्ट पत्रकारिता पुरस्कार दिएको थियो २०४३ सालमा । उक्त पुरस्कार एक हजार राशीको थियो । २०६५ सालमा स्वतन्त्र प्रेस सेनानीबाट सम्मानित नेपालीलाई २०६९ सालमा नेपाल सरकारले बरिष्ठ पत्रकार घोषणा गर्दै २ लाख राशी पुरस्कार प्रदान गरेको थियो ।
मैथिली साहित्यमा एमए गरेका नेपालीका २ छोरा ३ छोरी थिए तर जपत्रकारितामै लागेका जेठो छोरा रविन्द्र साहको २९ बर्षकै अल्पआयुमा निधन हुन पुग्यो । जेठो छोरा रविन्द्रले प्रकाशन सुरु गरेको विश्व जागरण दैनिक अहिले उनका कान्छो छोरा राघवेन्द्रले निकाली रहेका छन् ।
आजभोली गरिँदै आएको पत्रकारीताबाट भने नेपाली सन्तुष्ट छैनन् । आजभोली ब्यक्तिगत स्वार्थ पुर्ति गर्न पत्रकारिबाट शक्ति केन्द्रको चाकडी गर्ने परम्पराको बिकास हुँदै गएको आभास मैले गरेको छु , नेपालीले भने , पत्रकारले जहिले पनि शोषित पिडित जनताको आवाज उठाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्