सुदूरपश्चिम प्रदेशमै एउटा मात्र शव वाहन



डडेल्धुरा: सुदूरपश्चिम प्रदेशभरि एउटा मात्र शव बाहन रहेको पाइएको छ। कैलालीको धनगढी उपमहानगरपालिकास्थित नेपाल रेडक्रस सोसाइटीमा रहेको एक मात्र शव वाहनले सिंगो सुदूरपश्चिमलाई धानेको छ।

धनगढी बाहेक सुदूरपश्चिमका कुनै पनि स्थानमा शव वाहन नरहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीका जनस्वाथ्य निरीक्षक रमेश मलासीले जानकारी दिए। ‘अहिले कुनै पनि जिल्ला अस्पतालसँग शव वाहन छैन,’ उनले भने, ‘यस वर्ष भने प्रदेश सरकारले विभिन्न जिल्लामा शव वाहन खरिद गर्न बजेट छुट्याएको छ।’

चर्को मूल्य तिरेर निजी सवारीमा शव ओसार्न बाध्य
सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये एउटासँग मात्र शव वाहन हुँदा यहाँका स्थानीयले निकै सास्ती खेप्नु परिरहेको छ। एक उपमहानगपालिका बाहेक ३३ नगरपालिका र ५४ गाउँपालिका भएको यस प्रदेशमा एक मात्र शव वाहन रहेकाले यहाँका नागरिक चर्को भाडा तिरेर निजी सवारीमा शव ओसार्न बाध्य छन्।

प्रदेसभरमा एउटा मात्र शव वाहन हुनु दुखद भएको स्थानीयको भनाइ छ। जिल्लामा मात्र होइन, जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुँदा समेत निजी सवारीमा बोकाउनुपर्ने बाध्यता रहेको छ।

पहुँचवाला र धनीमानीले पैसा तिरेर साधन खोजे पनि गरिबहरुले भने समस्या झेल्नु परेको अजयमेरु गाउँपालिकाका पदम विकले बताए। उनले भने, ‘पहुँच भएकाहरु आफ्नो व्यवस्था मिलाइहाल्छन् तर गरिब, निमुखाहरुले भने आफन्तको मृत्यु भएपछि कि चर्को भाडा तिर्न बाध्य हुनुपर्छ कि डोको, बोरामा शव बोक्नुपर्ने अवस्था छ।’

चिनजान नभएको सवारी धनीले शव बोक्न नमान्ने र मानिहाले पनि चर्को भाडा लिने गरेको स्थानीयहरु बताउँछन्। निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिकहरु समस्यामा पर्ने गरेका छन्।

‘शव पोस्टमार्टम तथा संस्कार गर्नुपर्दा निकै समस्या हुन्छ,’ डडेल्धुराका लोकेन्द्र बिष्टले भने, ‘कुनै अप्रिय घटना, आत्महत्या, भैपरी आएका घटना, दुर्घटनामा कुनै शव परीक्षणमा समस्या पर्ने गरेको छ।’

डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले शव वाहन किन्नको लागि स्थानीय प्रशासन तथा स्थानीय सरकार अग्रसर हुनुपर्ने बताए। उनले भने, ‘अस्पतालबाट एक ठाउँबाट अर्को ठाउँमा शव लैजान परिवारलाई गाह्रो हुने गर्छ। निजी गाडीले शव लैजान मान्दैन, लैजाने गाडीले दुईतीन गुणा बढी शुल्क लिन्छन्।’ स्वास्थ्यखबरबाट

प्रतिक्रिया दिनुहोस्