स्वास्थ्य विभागको महानिर्देशक बनाउन आर्थिक चलखेल



काठमाडौ : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रलायमा सबैभन्दा आकर्षक र मालदार ठाँउको रुपमा रहेको स्वास्थ्य सेवा विभागको जिम्मेवारी कनिष्ठलाई दिन लागेको छन् ।

मन्त्री यादवले आधा दर्जन बरिष्ठ अधिकारीहरुलाई किनारा लगाउदै ११ औ तहका डा.रोशन पोखरेललाई कामु महानिर्देशक दिने अन्तिम तयारी गरेका छन् । यसअघिका महानिर्देशक डा. शुशिलनाथ प्याकुरेलले उमेरहदका कारण अवकाश पाएपछि गत भाद्र २२ गतेदेखि उक्त पद रिक्त रहेको थियो ।

आफ्ना आदेश राम्ररी पालना गरेका कारण मन्त्री यादवले प्याकुरेलको पदावधि १ वर्ष थप्न मन्त्रीपरिषदमा प्रस्ताव लगेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रस्ताव त्यत्तिकै थन्काईदिएपछि यादवको उक्त प्रस्ताव असफल बन्न पुगेको थियो ।

प्रधानमन्त्री ओलीले विभागमा महानिर्देशकका रुपमा कार्यरत डा. गुणराज लोहनीलाई हटाएर मन्त्री यादवले डा. प्याकुेरललाई महानिर्देशक बनाएको विषय भित्रदेखि रुचाएका थिएनन् । विभागको महानिर्देशकमा १२ औ तहको दरवन्दी छ । तर मन्त्रालयमा १२ औ तहका कर्मचारी छैनन् । १२ औ तहका दरवन्दी रिक्त भएपनि मन्त्री र सचिवका कारण पदपूर्ति हुन नसकिरहेको मन्त्रालयका कर्मचारीको भनाई रहेको छ ।

यही मौका छोपेर मन्त्री यादवले १२ औ तहको महानिर्देशक नियुक्त नभएसम्मका लागि भनेर चलाखीपूर्वक निर्णय गर्दै डा. पोखरेललाई कामु महानिर्देशकको जिम्मेवारी दिन लागेको मन्त्रालयश्रोत बताउछ ।


ऐनमा ६ महिनाका लागि मात्र कामु दिने प्रावधान रहेको छ । डा. पोखरेललाई महानिर्देशक बनाउन ठूलै आर्थिक चलखेल भएको चर्चा व्यापक बनेको छ । मन्त्री यादवले डा. पोखरेललाई महानिर्देशक बनाउन पहिलेदेखि नै सेटिङ मिलाएको श्रोतको दाबी छ । श्रोतका अनुसार यही सेटिङ अनुरुप कर्मचारी समायोजनका नाममा विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका डा. गुणराज लोहनीलाई हटाएर प्याकुरेललाई महानिर्देशक बनाईएको थियो ।


विभागका महानिर्देशक डा. लोहनीलाई मन्त्री यादवले कोशी अञ्चल अस्पतालमा सरुवा गरी कोशी अस्पतालका डा. पोखरेललाई केही महिना अघि मन्त्रालयमा ल्याएका थिए । त्यसवेलादेखि सेटिङ मिलाईएको थियो । डा. पोखरेल भन्दा सिनियर ११ औ तहका आधा दर्जन कर्मचारी छन् ।

तिनीहरुलाई उछिन्दै डा.पोखरेलले राम्रो आर्थिक रकम खर्चेर महानिर्देशक बन्ने बाजी मारेका छन् । डा. पोखरेललाई महानिर्देशक बनाउन टिप्पणी उठिसकेको बताईन्छ । आजै भोली आफू महानिर्देशक बनेर आउने हुँदा कुनै काम नगर्नु भन्दै डा. पोखरेलले विभागका कर्मचारीहरुलाई सन्देश पठाएको चर्चा टेकुमा चलेको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता महेन्द्र प्रसाद श्रेष्ठले विभागको महानिर्देशक पदका लागि १२ औ तहको दरवन्दी भए पनि हाल मन्त्रालयमा १२ औ तहका कर्मचारी नभएका कारण ११ औ तहको कर्मचारी खटाउनुपर्ने बाध्यता रहेको बताउछन् । उनले विभागको महानिर्देशक पद रिक्त भएकोले सो पदमा कसलाई पठाउने भन्ने मन्त्रीको अधिकारको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्