यस्तो छ सिकलेस सांस्कृतिक ग्राम



काठमाडौं : कास्कीको पर्यटकीय गाउँ सिकलेसलाई एक सांस्कृतिक ग्रामका रुपमा विकास गरिने भएको छ । गुरुङ समुदायको प्राचीन बस्ती सिक्लेस आफैमा ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको गाउँ हो । यिनै ऐतिहासिक महत्वलाई जीवन्त राख्ने सोचका साथ सिक्लेस सांस्कृतिक ग्राम निर्माणको गुरु योजना अघि सारिएको हो ।
ऐतिहासिक वास्तुकलाको संरक्षण :
सांस्कृतिक ग्राम निर्माणका लागि स्थानीय विशिष्टतालाई केन्द्रमा राखिएको छ । त्यसो त सिक्लेसका सबै घरगोठहरु एउटै र परम्परागत शैलीमा निर्माण भएका छन् । यही परम्परागत शैलीलाई कायम राख्न वडामा घर निर्माणका केही मापदण्डहरु पनि कायम गरिएका छन् ।
सांस्कृतिक ग्राम निर्माणका लागि गाउँपालिकाले रु. १० लाखको लागतमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिरहेको छ । सिक्लेसका सबै चोक, चौतारो, बाटो, धारा एकैनासको बनाइने भएको छ ।
आधुनिक प्रविधिको प्रयोग :
सांस्कृतिक ग्राम निर्माणमा परम्परागत विशिष्टतालाई जोगाउने भनेको आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्ने नै हो । पर्यटकको सहज पहुँच र पूर्व अध्ययनका लागि इमेल र इन्टरनेटको प्रयोगलाई व्यवहारिक बनाइने भएको छ । यसको कारणले पाहुनालाई गुगलमार्फत् घर नम्बर सर्च तथा सम्पर्क नम्बर प्राप्त गर्न सहज होस् भन्ने नै हो ।
सातसय सिक्लेस : गुरुङको समउद्गम थलो !
झण्डै बाह्रौं शताब्दीदेखि रहेको सिक्लेसको यो बस्ती गुरुङको समउद्गम थलोका रुपमा पनि लिइन्छ । तुलनात्मक अध्ययन गर्दै जाँदा सिक्लेसमा गुरुङ जातिको उद्गमस्थल भनिदै आएको क्होंला सोंथरमा बस्ती हुँदैदेखि बस्ती बसेको विश्वास गरिन्छ । विसं २००० सालमा सिक्लेसको बस्ती उत्कर्षमा पुगेको बताइन्छ ।
सिकलेसको ऐतिहासिकता : गुरुङको जीवन्त संग्रहालय
परम्परागत सिकारी युगदेखि कृषि युगहुँदै वैदेशिक रोजगारी र पछिल्लो चरणमा पर्यटकीय ग्रामका सिकलेसको विकास हुँदै गएको पाइन्छ । अन्नपूर्ण हिमशृङ्खलाको काँखमा अवस्थित यो गाउँ समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा छ ।
मौलिक परम्परा, संस्कार–संस्कृति, रितिथिति, रहनसहन, भेषभूषा आदि सामाजिक मूल्य मन्यता जीवितै रहेको यो गाउँलाई गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय पनि मानिन्छ । ठूला–ठूला चौर, पशु चरन, पहाड, पाखा, पखेरा, झरना, छाँगा, नदीनाला, हिमशृंखला, हरिया वनजङ्गल र विभिन्न प्रजातिका वनस्पति आदिका कारण प्राकृतिक सौन्दर्यतामा पनि यो गाउँ कमी छैन ।
सिमेभूमे, देवीदेउराली आदि भूमि पूजासँग यहाँको धर्म संस्कृति जोडिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्