दूध, पानी र तेलका धेरै उद्योग मापदण्डविपरीत : कृषिमन्त्री



 काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले दूध, पानी र तेलका अधिकांश उद्योग मापदण्ड विपरीत सञ्चालन भइरहेको बताएका छन् ।

 

आइतबार संसदको कृषि समितिमा उनले मापदण्ड विपरीत सञ्चालित उद्योगलाई कानुनको दायरामा ल्याउन प्रयास भइरहेको दावी गरे । काठमाडौंमा पानीका करिब दुई सय उद्योग रहेको भन्दै मन्त्री खनालले त्यसमध्ये ५/६ वटामात्रै मापदण्डअनुसार सञ्चालन भएको पाइएको जानकारी दिए ।

 

दूधका २७ उद्योग पनि राम्रो हालतमा नरहेको र ३०/३५ वर्षदेखि सञ्चालित उद्योग पनि मापदण्ड विपरीत रहेकेा पाइएको उनको भनाइ छ । कृषिमन्त्री खनालले उद्योगहरुलाई गुणस्तर कायम गर्न पटक-पटक ताकेता गर्दा पनि अटेर गर्दै आएको बताए ।

 

विगतमा विदेशबाट आयातीत धुलो दूधमा पानी मिसाएर बेच्ने गरिए पनि अहिले त्यो रोकिएको कृषिमन्त्री खनालको दावी छ । खाने तेल पनि विषादीयुक्त हुँदै गएको र नियमन प्रभावकारी हुन नसकेको कृषि मन्त्री खनालले स्वीकार गरे । कृषिका समस्याहरु समाधान गर्न २५ वटा परियोजना तयार भइरहेको र त्यो आगामी तीन महिनाभित्र तयार भइसक्ने उनले जानकारी दिए ।

 

कृषिका चुनौती मलखाद पनि रहेको भन्दै उनले सरकार त्यसतर्फ सचेत रहेको बताए । बैठकमा सांसद तथा पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले कर्मचारीलाई नियन्त्रणमा राख्न सुझाव दिए ।

 

सांसद ओनसरी घर्ती मगरले निर्वाहमुखी कृषिबाट माथि उठ्नुपर्ने बताइन् । सांसद राधा ज्ञवालीले सामूहिक कृषि कर्मतर्फ सरकारले प्रोत्साहन गर्न सक्नुपर्ने बताइन् ।

 

सांसदहरु दलबहादुर राना, सत्यनारायण शर्मा, राजबहादुर क्षेत्रीलगायतले जनतालाई राहत पुग्ने गरी काम गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्