अविरल वर्षाका कारण पाँच सय घरपरिवार समस्यामा



पोखरा : गएको रातिदेखिको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका ५०० भन्दा बढी घरपरिवार समस्यामा परेका छन् ।

बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म लगातारको मुसलधारे पानीका कारण खोला उर्लिएपछि रातको समयमा नै सुरक्षित स्थानतर्पm जान स्थानीयवासी बाध्य भएको स्थानीयवासी दानबहादुर विकले जानकारी दिए।

बाढीले नयाँबस्ती, डुढेको फाँट, घाटीछिना, ठूलाखेत, बाम्दी, चनौटेसहित पोखरा २४ को कार्कीको तहरालगायत स्थानमा क्षति पु¥याएको बताउँदै उनले लगभग १०० घर उच्च जोखिममा रहेको बताए।

फेवातालको सिरमा रहेको सो खोलामा आएको बाढीका कारण स्थानीय बासिन्दा रातभर जाग्राम बसेका र खोलाको कटानले फाँटमा लगाएको सयौँ रोपनी जग्गाको धानबालीसमेत बगाएको दानबहादुरले जानकारी दिए।

पोखरा २३ का वडाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाका अनुसार बाढीले भौतिक संरचनामा ठूलै क्षति पु¥याए पनि मानवीय क्षति भने भएको छैन । खोला बढेसँगै बस्ती कटान नियन्त्रणका लागि भरिएका तारजाली बगाएको र पानी पर्ने क्रम निरन्तर भएमा ठूलै क्षति हुने खतरा देखिएको उनले जानकारी दिए।

बाढीले पोखरा २४ मा टङ्कबहादुर खड्काले सञ्चालन गरेको समाज सुधार कृषि फार्ममा १२५ वटा कुखुरा मर्नाका साथै पामे बजारका तीन घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डुबानमा पर्नेमा पोखरा २४ का पूर्णप्रसाद तिमिल्सिना, दुर्गा तिमिल्सिना र सन्तोष हमालको घरमा पानी पसेको छ । –  रासस

प्रतिक्रिया दिनुहोस्