पूर्वी चितवनको खैरहनीमा शीत भण्डार निर्माण हुने



चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सुर्तनीमा शीतभण्डार निर्माण हुने भएको छ । शीतभण्डारको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले आज शिलान्यास गरेका छन्।

प्रदेश नम्बर ३ खैरहनी नगरपालिका र नगरभित्र रहेका सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गर्न लागिएको हो । मन्त्री लामाका अनुसार प्रदेशको प्रत्येक जिल्लामा शीतभण्डार निर्माण गर्ने योजनाअनुसार चितवनको खैरहनीमा निर्माण गर्न लागिएको हो ।

शीतभण्डार भवनको शिलान्यास गर्दै कृषि मन्त्री लामाले कृषिलाई व्यवसायीकरण गराउन शीतभण्डार कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। शीतभण्डारमा कृषि उपज राखेवापत किसानले केही शुल्क तिर्नु पर्ने र त्यहाँबाट भएको आम्दानी किसानले पाउने मन्त्री लामाले बताए।

सो अवसरमा मन्त्री लामाले समयमै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए। आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी इजी इन्फा प्रालिले ठेक्का पाएको छ । शीतभण्डारमा एक हजार ५०० मेट्रिक टन खाद्यान अट्ने छ । –  रासस

प्रतिक्रिया दिनुहोस्