चाडपर्वलाई लक्षित गरेर एक हजार बढी प्रहरी परिचालन



झापा : दशैँ, दीपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापाले एक हजार २३५ प्रहरी परिचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी भयरहित वातावरणमा आम नागरिकले चाडपर्वलाई मनाउन पाउन् भन्ने उद्देश्यका साथ एक हजार २३५ प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए।

उपरीक्षक मैनालीले सुरक्षा योजनाअन्तर्र्गत सवारी दुर्घटनामा न्यूनीकरण गर्ने, धार्मिक मेला लाग्ने मठमन्दिर र देवालयमा सम्भावित घटनाहरु रोकथाम गर्ने, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा गर्ने, मादक पदार्थ र जुवातास नियन्त्रण गरिने बताए।

उनले जिल्लामा ४० चेक प्वाइन्ट राखिएको, पूर्वपश्चिम राजमार्गमा सात स्थानमा गस्ती टोली खडा गरिएको, सात वटा ‘रिजर्भ’ टोलीलगायत खटाएर सुरक्षा व्यवस्थालाई बलियो पारिएको बताए।

प्रहरीले गाडी र मोटरसाइकलमार्फत २४ घण्टा गस्ती गर्ने, बैङ्क तथा वित्तीय संस्था, ठूला व्यापारिक केन्द्र, प्रतिष्ठानलगायतका कार्यालयमा सुरक्षा व्यवस्थालाई कडा बनाउँदै बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन कार्यसमेत शुरु गरिएको उनले बताए।

गुण्डागर्दी, चोरी र लुटपाटका सम्भावित घटना रोक्न सवारी साधनमा पनि सादा पोशाकमा हतियारसहितका प्रहरी परिचालन गरिएको उपरीक्षक मैनालीले जानकारी दिए। झापा जिल्लाको प्रहरीलाई नमूना प्रहरी बनाउने उद्देश्यले सुरक्षा व्यवस्थालाई बलियो बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गतका समितिहरुलाई सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गरिएको उनले बताए। – रासस

प्रतिक्रिया दिनुहोस्