मधेसमा नेकपा : प्रदेशमा हानाहान केन्द्रमा तानातान



काठमाडौं : पछिल्लो पटक केन्द्रमा समिकरण बदलिएसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं.२ मा बिवाद बढदै गएकोे छ । तत्कालिन एमाले र माओवादी केन्द्र बीच एकीकरण पश्चात एकता प्रक्रिया टुंगो लाग्न अन्तिम चरणमा पुग्दानपुग्दै बिवाद बढदै गएको हो ।
विवाद बढ्दै जाँदा सपथग्रहणमा झडप हुन पुगेको छ । यससँगै विवाद झनै बढेर जाँदा नेताहरुमाथि कारबाही गर्ने र राजिनामा माग्ने तहमा पुगेको छ ।

अन्य कमिटीसंगै पछिल्लो समय नेकपा प्रदेश २ मा समेत बिवाद उत्कर्षमा पुगेको छ । नेता बीचको सम्बन्ध चिसिदै गएको छ भने बिवाद बढदै गएको छ । एकले अर्कोलाई कारवाही गर्नुपर्ने माग गर्दै पार्टी मुख्यालयमा निबेदन समेत पर्न थालेको छ । केन्द्रीय कार्यालयमा कारवाहीको निबेदन पर्न थालेपछि पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहितका नेता नै विवाद मिलाउन अघि सर्नुपर्ने अवस्था आएको छ ।

रघुवीर, प्रभुलाई कारवाही गर्न माग

नेकपाको केन्द्रीय कमिटीमा प्रदेश २ बाटै मात्र ७० भन्दा बढी केन्द्रीय सदस्य छन् । ति मध्ये १९ जना केन्द्रीय सदस्यले स्थायी कमिटीका सदस्य एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, केन्द्रीय सदस्य एवं प्रदेश २ का सहइन्चार्ज बिश्वनाथ साह, प्रदेश २ का अध्यक्ष एवं केन्द्रीय सदस्य प्रभु साह, सचिव सुमन प्याकुरेललाई कारवाही गर्न हिजो मंगलबार माग गरेका छन् ।

नेकपाका एक नेताका अनुसार ७० भन्दा बढी केन्द्रीय सदस्य रहेका प्रदेश २ बाट १९ जना मात्रैले कारवाही गर्न माग गर्नुले यो समूह कमजोर रहेको पुष्टि हुन्छ । नेकपा स्रोतका अनुसार आफू कमजोर भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटीका सदस्य एवं उधोग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको निर्देशनमा कारवाहीको माग गरिएको हो ।

बर्दिबास घटनालाई लिएर हिजो मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ज्ञापनपत्र बुझाउन पुगेको समूहमा प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने झण्डै ७० जना केन्द्रीय सदस्यमध्ये १६ जना मात्रले समर्थन गर्नुले यसको पुष्टि गरेको छ ।

समर्थन गर्ने १९ जनामध्ये झन्डै आधा सदस्य तत्कालीन माओवादीका हुन् जसलाई मातृका यादवको संरक्षण रहेको बताईन्छ । नेता माधव नेपाल पक्ष प्रदेश २ मा कमजोर भएपछि यादवको साथ लिन पुगेको छ । अहिले नेपाल र यादव पक्ष एक ठाउँमा उभिएको छ । दुवै पक्षले केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यले बर्दिबास घटनामा दुई नेताको साँठगाँठको पनि पुष्टि गरेको छ ।

भदौ २४ गते बर्दिबासमा प्रदेश नम्बर २ अन्तर्गतको केही जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा नेता नेपाल र यादव पक्षले तोडफोड गरेका थिए भने प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपात गर्ने प्रयास गरेका थिए ।

नेकपा प्रदेश २ का सहइन्चार्ज तथा केन्द्रीय सदस्यद्धय नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायत १९ जनाले मंगलबार नेकपा केन्द्रीय सचिवालयमा ज्ञापनपत्र बुझाएका हुन् । नेकपा केन्द्रीय समितिको परिपत्रलाई उल्लंघन गर्दै सपथ ग्रहण राखेर असहज परिस्थिति सिर्जना गरिएको भन्दै ज्ञापन पत्रमा विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गरेको दावी गर्दै कारवाहीको माग गरिएको छ ।

ज्ञापनपत्रमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगत प्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठा लगायत छन् ।

नेकपाको अन्तरिम विधानको धारा ३६ (ख) तथा विशेष परिपत्र ४ (क) विपरीत प्रदेश नं २ का सबै जिल्ला कमिटीहरुमा मनोनयन गरिएका तथा योग्यता नपुगेकाहरुको मनोनयन रद्द गरी वरिष्ठ र योग्यता पुगेकाहरुलाई मनोनयन गरेर सपथ ग्रहण गराउनु पर्ने माग उनीहरुले उठाएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरीत कार्य गरेको आरोप लगाउँदै उनीहरुले महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनु पर्ने माग समेत गरेका छन् ।

नेपाल र यादवलाई अनुशासनको कारवाही गर्न माग

यसैबीच नेकपा प्रदेश २ ले वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटीका सदस्य एवं उधोग मन्त्री मातृका यादव सहित दर्जन नेतालाई अनुशासनको कारवाही गर्न माग गरेको छ ।

जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा तोडफोड गराएको भन्दै नेकपा प्रदेश कार्यालयले नेपाल, यादव सहितका नेताहरुलाई कारवाहीको माग गरेको हो ।

प्रदेश कार्यालयको बसेको बैठकले उक्त घटना नेता नेपाल तथा यादवको निर्देशनमा भएको निचोड निकाल्दै नेताद्वयमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गरेको छ ।

२४ भाद्र बर्दिबासमा ६ वटा जिल्ला कमिटीको सपथ ग्रहण गराउने तयारी थियो । बर्दिबास सेवा समितीको हलमा हुने कार्यक्रममा तोडफोड तथा प्रदेश अध्यक्ष प्रभु साह एवम सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास भएको थियो ।

एक जना प्रदेश पदाधिकारीले यसको पुष्टि गर्दै भने, ‘पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनमा सपथ ग्रहण कार्यक्रम राखिएको थियो । विवाद केही होइन, केन्द्रमा भएको असन्तुष्टि तल्लो तहमा पोख्न उहाँहरुले सपथ ग्रहण नै भाँड्न खोज्नुभयो । तर पनि पार्टीका इमान्दार कमरेडहरुले संयमता देखाउनुभयो र दुई जिल्ला सिरहा र सप्तरीको सपथ ग्रहण पनि भयो ।’

‘नाराबाजी भैरहँदा अध्यक्ष प्रभु साहले वार्ता गरौं आवश्यक परे रोक्न पनि सकिन्छ भनिरहँदा पनि आपराधिक रुपमा जुन व्यवहार देखियो त्यो निन्दनीय छ’ उनले थपे, ‘पछि घटनाबारे सूक्ष्म रुपमा बुझ्दा पार्टी वरिष्ठ नेता माधव नेपाल तथा मातृका यादवको निर्देशनमा उक्त कार्य भएको हुनाले पार्टी नेतृत्वसंग दुबै नेतामाथि छानबिन गरि आवश्यक कारवाहीको माग गर्दै लिखित निर्णय नै गरेका हौँ ।’

सपथ ग्रहण कार्यक्रम भाँड्ने प्रयासस्वरुप भएको तोडफोडको नेतृत्व भने पदभार ग्रहणसमेत गरिनसकेका नवनियुक्त प्रदेश सहइन्चार्ज महेन्द्र पासवानले आक्रमणको नेतृत्व गरेको भन्दै केन्द्रीय कमिटीबाट निष्कासन गर्न प्रदेश कार्यालयको माग छ ।

प्रदेश कार्यालय बैठक बोलाउदासमेत नआएको, कुनै जानकारी नगराएको र पार्टी बिरुद्धको गतिविधि गरेको निष्कर्ष प्रदेश कार्यालयले निकालेको हो । आक्रमणमा संलग्न अर्का केन्द्रीय सदस्य जगत यादवलाई पनि केन्द्रीय कमिटीबाट निकाल्न माग गरिएको छ ।

त्यस्तै आक्रमणमा संलग्न गंगा पासवान र फुलगेन नायकलाई प्रदेश कमिटीबाट निष्कासन गर्न र पूर्वमन्त्रीसमेत रहेका उमेश यादवको पार्टीको साधारण सदस्यता खारेज गर्न माग गरिएको प्रदेश कार्यालयले जनाएको छ ।

यस्तो छ बिवादको कारण
नेकपा प्रदेश २ स्तरीय राजनीति अहिले चर्चामा छ । भदौ २४ गते महोत्तरीको बर्दिबासमा आयोजित जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा भएको सांघातिक आक्रमणका कारण यहाँको राजनीति तरंगित छ ।

सो आक्रमणमा मुख्य निर्देशनकर्ता नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल तथा स्थायी कमिटी सदस्य मातृका यादव हुन् । नेताद्वयलाई कारबाहीको माग केन्द्रीय सचिवालयसंग नेकपा प्रदेश २ ले यस अघि नै गरेको छ । बर्दिबास घटना हुनुको पछाडि यादवको विगतको भोगाइ मुख्य कारण रहेको छ । व्यक्तिगत टकराव, राजनीतिक संरक्षणको खोजी र एकलौटी नेतृत्व गर्ने चाहना नेता यादवको राजनीतिक स्वभावले प्रतिकुल राजनीतिक परिस्थिती आक्रामक हुनुको मुख्य कारण रहेको नेकपाका एक नेताले बताए ।

प्रदेश ईन्चार्ज रहेका मातृका पछिल्लो पटक तत्कालीन माओवादी केन्द्रको धनुषा जिल्लाको इन्चार्जमा सिमित बनाइदिए । सर्लाही र महोत्तरी जिल्लाको इन्चार्जमा गिरिराजमणि पोखरेल, सिरहा र सप्तरी जिल्लाको इन्चार्जमा बिश्वनाथ साह, रौतहट र बारा जिल्लाको इन्चार्जमा प्रभु साह र पर्सा इन्चार्जमा उर्मिला अर्याल तोकिए । त्यतिबेला देखि नै अपमानित महसुस गरेका यादव त्यसयता निरन्तर कमजोर बन्दै गए भने आफनो अस्तित्व रक्षाका निम्ति निरन्तर लागेका छन् ।

पार्टी एकताका बेला यादवले बारा जिल्लाका अनिल श्रेष्ठलाई पाखा लगाउदै सामान्य नेता रहेका गोपाल ठाकुरलाई केन्द्रीय सदस्य बनाए । सिरहाका दिलिप साह र धनुुषाका रामचन्द्र मण्डललाई केन्द्रीय कमिटीमा ल्याउनबाट रोकेको आरोप पनि यादवमाथि छ ।

एकातिर पार्टीमा भुमिका बिहिन बनेका यादव अस्तित्वको खोजीमा छन भने, अर्का नेता नेपालसंग साँठगाँठ गरेका छन् ।

मातृका यादवलाई अहिले मन्त्रीबाट हटाईन्छ कि भन्ने त्रास पनि छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग त्यति राम्रो सम्बन्ध नभएको र विभिन्न विवादमा परेका कारण यादवलाई अब हुने मन्त्रीमण्डलको पुर्नगठनमा हटाउने चर्चा छ ।

तर पार्टीका अर्का अध्यक्ष दाहालको संरक्षणमा उनको मन्त्री पद जोगिदै आएको बताईन्छ । खासमा मन्त्री यादवको स्थानमा साहलाई मन्त्री बनाउने तयारी पार्टी नेतृत्वले गरेको हुनाले यादव बारबार साहको नेतृत्वमा हुने गरेका काममा बाधक बन्दै आएको निकट स्रोतको भनाई छ ।

तराई मधेशमा एकछत्र आफ्नो वर्चस्व हुनुपर्ने भनी दाबी गर्ने यादवले साहको बढ्दो लोकप्रियताका कारण भयभीत एवं त्रसित भएका हुन् । जसको कारण अध्यक्ष साहको नेतृत्वमा हुने हरेक कार्यमा उनले अवरोध पुर्याइरहेका हुन्छन् । बर्दिबास घटना पनि त्यसकै उपज हो ।

प्रतिक्रिया दिनुहोस्