भूमिगत तेल भण्डार प्रयोगमा ल्याउन वासिंगटनलाई दबाब



काठमाडौं : साउदी अरेबियाका दुई प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन हमलापछि यसको प्रत्यक्ष प्रभाव अमेरिकी तेलबजारमा परेको छ । हमलापछि आगलागीका कारण अमेरिकामा तेल आपूर्ति बन्द भएको छ ।

अमेरिकी नागरिक तथा उद्योगीहरुले वासिंगटन डीसीलाई आपतकालमा प्रयोगका लागि संचित गरिएको भूमिगत तेल भण्डार प्रयोगमा ल्याउन दबाब दिइरहेका छन् ।

नागरिक तथा उद्योगीको दबाबपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले बजारमा पर्याप्त तेल आपूर्तिका लागि सञ्चित तेलभण्डारलाई प्रयोगमा ल्याउन सकिने संकेत दिएका छन् । सञ्चित भण्डारमा ६४ करोड ब्यारेल तेल रहेको छ । टेक्सास र लुइजियाना राज्यको जमिनमुनी विसाल गुफाहरूमा तेल भण्डारण गरिएको छ । सन् १९७० को दशकबाट यस्तो खाले भण्डारण निर्माण र प्रयोग हुँदै आएको हो ।

अन्तर्राष्ट्रिय नियमअनुसार अन्तर्राष्ट्रिय उर्जा केन्द्रमा आवद्ध सबै सदस्य राष्ट्रले आआफ्ना देशको आवश्यकता अनुसार तीन महिनाका लागि चाहिने पेट्रोलियम पदार्थ भण्डारण गर्न पाउँछन् । तर यही अधिकारलाई प्रयोग गरेर अमेरिकाले भीमकाय तेल भण्डारहरु निर्माण गरेको छ ।
साउदी अरेबियामा ड्रोन हमलापछि मध्यपूर्वका देशहरूले तेल आपूर्तिमा कमी आएपछि विश्वभर तेलको मूल्य आकाशिएको छ ।

प्रतिक्रिया दिनुहोस्