भ्रमण वर्षमा मगन्तेहरुको अवरोध



काठमाडौं : ढिलै भए पनि नेपाल सरकारले घोषित पर्यटन वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक कामहरु अघि बढाउन हतारो देखाइरहेको छ ।

के गर्दा पर्यटक नेपालमा आकर्षित गर्न सकिन्छ, उनीहरुको बसाइ लम्ब्याउन सकिन्छ र उनीहरुको चाहना र आवश्यकताका कुराहरुको पूर्ति गरेर नेपाल बसाइ सन्तुष्ट बनाउन सकिन्छ, यी सरकारका खोजीका प्राथमिकतामा परेका देखिन्छन् ।

तर के कुराले पर्यटकहरु सताइएका छन्, उनीहरुको घुमफिर र रमाइलो भ्रमणमा बाधा पुगिहेको छ र ती व्यवधानको व्यवस्थापन कसरी गर्ने भन्नेमा सरकार तथा सम्बन्धित सबै सरोकारवालाको चासो त्यति गएको देखिदैन । पर्यटकले झेल्नु परिरहेका यस्ता समस्यामा मगन्तेको व्यवहार समस्याको रुपमा देखा परिरहेको छ ।

नेपालका काठमाडौं, पोखरासहित पर्यटकले रुचाएका सहरमा मगन्तेको लाम लाग्ने गरेको छ । आपूmलाई मन परेका कुरा एकटकले हेरिरहेका र तस्वीर लिंदै गरिरहेका बेला मगन्ते पर्यटकका झोला, हात र कपडा समाउँदै पैसा माग्न थाल्छन् । यो क्रियाकलापले पर्यटकको ध्यान अन्यत्र जाने मात्र होइन, दिक्क लागेर रिसाइरहेको देखिन्छ ।

तर मगन्ते भने झुण्डिन छाडेका हुँदैनन् । काठमाडौंको वसन्तपुर र पोखराको लेकसाइड इलाकामा त मगन्ते पर्यटकसँग पैसा माग्दै पछिपछि लखेटिरहेका दृष्य प्रशस्तै देखिन्छन् । तर यस्तोखाले समस्याबाट पर्यटकलाई मुक्त बनाउन र आनन्द लिंदै घुमफिर गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सरोकारवालाको चासो भने देखिएको छैन ।

यस्ता मगन्तेमा पहाडिया मूलका केही देखिए पनि भारतीय मूलका मगन्ते, त्यसमा पनि महिला र बालबालिका, बढी मात्रामा देखिएका छन् । यस्ता मगन्ते पर्यटक घुम्न निस्कनुभन्दा पहिल्यै बिहानै बाटो कुरेर बसिरहेका भेटिन्छन् भने पर्यटक वासस्थानमा नफर्कदा साँझ अबेरसम्म पनि पछि लागिरहेका हुन्छन् ।

विदेशी पर्यटकले नेपाललाई ‘ट्राफिक जाम’को पर्यायवाचीका रुपमा लिने गरिरहेका बेला ‘मगन्तेको देश’ भनेर नामाकरण गर्न र भ्रमणका लागि प्राथमिकतामा नराख्न पनि सक्छन् ।
भ्रमण वर्ष २०२०को पूर्वसन्ध्यामा यस्ता मगन्तेको उचित व्यवस्थापनका लागि सरकारलगायत सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्