प्रविधिका देवता विश्वकर्माको पूजा : एक उन्नत मैथिल संस्कृति



काठमाडौं : मिथिला क्षेत्रमा पुजिने ज्यावलका देवता विश्वकर्माको आज देशैभर पूजाआजा गरिंदै छ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाइन्छ ।

मैथिल परम्पराअनुसार आज महोत्तरीसहितका तराई क्षेत्रमा ज्यावलका देवता मानिने विश्वकर्माको धूमधाम रुपमा पूजाआराधना गरिन्छ । मनुष्य जीवनलाई आधुनिक सभ्यातातिर डोर्याउने ज्यावल वा प्रविधिको पूजाआराधना आफैमा आधुनिकता सिर्जित संस्कृति पनि हो ।

आजको दिन घरमा रहेका दैनिक प्रयोग हुने सामानदेखि औद्योगिक मेशिनरीसम्मको भव्य पूजाआजा र सम्मान गरिन्छ । औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुमा त विविध समारोहहरु पनि आयोजना गरिन्छन् । विश्वकर्माको पूजाआराधना धार्मिक विधिअनुसार गरिए पनि यसको भौतिकवादी महत्व रहेको छ ।

पर्वका अवसरमा सामान उत्पादन गर्ने ससाना उद्योग, अन्नपात कुटान÷पिसान र पेलानका मिल, यातायातका साधन तथा धातुबाट बनेका ससाना ज्यावललाई पनि धोइपखाली पूजा गरिन्छ । ठूलासाना सबै कलकारखानामा इञ्जिन तथा पाटपूर्जा सबैको पूजा हुन्छ ।

यस अवसरमा उद्योगमा काम गर्ने कामदारलाई व्यवस्थापक तथा सञ्चालकले विशेष भोजन गराउने, बोनस दिने र नयाँ वस्त्र प्रदान गर्ने आदि गर्दछन् । प्रतिकका हिसाबले दाह«ीकपाल सेतै फुलेका विश्वकर्माको प्रतिमा औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र गाउँनगर बस्तीका चोक–चोकमा स्थापित गरी सम्मान गर्ने चलन पनि रहेको छ ।

धर्मशास्त्रमा ब्रह्मालाई सृष्टिकर्ताका रुपमा वर्णन गरिएको पाइन्छ । झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माका पनि चारहातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल राखिएको हुन्छ ।
सत्ययुगमा देवता र दैंत्यले संयुक्तरूपमा समुद्र मन्थन गर्दा विश्वकर्मा उत्पत्ति भएको मानिन्छ । किनकि समुद्र मन्थन गर्दा आवश्यक पर्ने औजार र ज्यावलहरु यिनै विश्वकर्माले बनाएको विश्वास छ । समुद्र मन्थनका लागि निर्मित यी सबै ज्यावल संरक्षणका लागि ब्रह्माले यिनै विश्वकर्माको हातमा सुम्पिएका थिए ।

आजका दिन विश्वकर्माको पूजाआराधनाले ज्यावल खिया नलाग्ने, टिकाउ हुने र सधैँ शुभ फल दिने विश्वास गरिन्छ । यसले प्रविधि र साधनहरुको हिफाजत, सदुपयोग र उचित भण्डारणका लागि आवश्यक कला,सीप र क्षमताको विकास गराउँछ ।

आज मानव निर्मित ज्यावलहरु अन्तरीक्षमा भूउपग्रहका रुपमा काम गरिरहेका छन् । ब्रह्माण्डमा अर्को पृथ्वीको खोजीमा छन् । जल, जीव र हावाको खोजीमा छन् । यसले अस्त्र दुरुपयोगको होडमा पनि मानव जगतलाई तानिरहेको छ । आणविक भट्टीहरु, मिसाइल तथा क्षेप्यास्त्रहरु, वम वर्षक विमानहरुका साथै जैविक अस्त्रहरु निर्माण भएका छन् । विश्वकर्मा निर्मित ज्यावल आज यो अकल्पनीय स्तरमा विकास हुन पुगेका छन् ।

यस अर्थमा ज्यावल अर्थात् विशवकर्मा पूजाको मैथिल संस्कृति नेपाली विज्ञान तथा प्रविधिको विकासमा प्रेरक बन्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्