काठमाडौं चिनियाँ फौजको कडा रेकीमा, राष्ट्रपति सि बसाल्ने होटल अझै भेटिएन



काठमाडौ : चीनका राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण हुने पक्कापक्की भए पनि सुरक्षाका कारणले मिति सार्वजनिक गरिएको छैन ।

चीन र नेपाल दुवै देशका परराष्ट्र मन्त्रालय राष्ट्रपति सिको नेपाल भ्रमणको तिब्र तयारीमा जुटिरहेका छन् । नेपाल भ्रमणका बेला सिको भ्रमण तालिका तय गरेर चीन सरकारलाई पठाईए पनि जवाफ आएको छैन ।

सिको नेपाल भ्रमणको तयारीका शिलशिलामा केही दिन अघि चीनका विदेशमन्त्री तीनदिने नेपाल भ्रमण सकेर फर्किएका छन् भने स्टेट काउन्सिलरको नेतृत्वमा ६ सदस्यीय टोली आईतबार आउदैछ । यसले सिको भ्रमण हुने पुष्टि गर्दछ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सिको भ्रमणको मिति तय नभईसकेको बताउदै भने –हामी आन्तरिक गृहकार्यमा जुटिरहेका छौ । चीनका महामहिम राष्ट्रपतिको भ्रमण हुनेमा म विश्वस्त छु । छिट्टै नै भ्रमण सम्बन्धि जानकारी आउछ ।

राष्ट्रपति सिको नेपाल भ्रमण कति दिनको हुने भन्ने टुङ्गो लागिसकेको छैन । तर एक रात बस्ने चर्चा छ । एक दिन र एक रातको बसाइ भए पनि नेपालमा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाईदै छ । खास गरी ‘फ्रि तिव्वतीयन मुभमेन्ट’लाई ध्यान दिई सुरक्षा व्यवस्था कडा पार्न लागिएको बताईन्छ ।

चिनियाँ राष्ट्रपति सि जिनफिङको अर्को महिना हुने नेपाल भ्रमणको तयारी क्रममा चीनले सुरक्षा स्थिति अध्ययन गर्न दिनैपिच्छेजस्तो बेग्लाबेग्लै टोली काठमाडौं पठाइरहेको छ ।

त्यसक्रममा बेइजिङबाट एकजना जर्नेलको नेतृत्वमा १७ जनाको फौज सोमबार काठमाडौं ओर्लिएको छ । सोल्टी होटलमा डेरा जमाएको टोलीले आएकै दिन साँझपख अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, भिआइपी, भिभिआइपी लाउञ्ज, आगमन र प्रस्थान कक्षको अवलोकन गरिसकेको छ ।

चिनियाँँ विदेशमन्त्री वाङ् यी फर्किएलगत्तै उताबाट आउने टोलीहरु थपिन थालेका हुन् । परराष्ट्र मन्त्रालयमा सधैँजसो चिनियाँ र नेपाली अधिकारीबीच बैठक चलिरहेको छ ।

चिनियाँ पक्षले राष्ट्रपतिलाई काठमाडौं उतार्दा कतिवटा जहाज, कति मानिस ल्याउनेदेखि कसलाई कहाँ राख्ने, हिँड्डुल वा भेटघाटका तालिका कति र कसरी तय गर्नेसम्मका विषयबारे छलफल गरिरहेको छ ।

यस्तो सरोकार गत सोमबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर तीनजनाको छुट्टै टोलीले राखेको हो । चीनले ८०० सिरिजको तीनवटा बोइङ ७४७ जहाजसहित राष्ट्रपति जिनफिङलाई अवतरण गराउने चाहना व्यक्त गरेको छ ।

तर, यहाँ त्यस्तो जहाज अवतरण गराउन मुस्किल हुने स्पष्ट पारिएको बताइन्छ । नेपालसँग भएको र यहाँको विमानस्थलमा सहजताका साथ अवतरण हुनसक्ने ७४७ बोइङ ‘फोर ई’ क्याटागोरीको हो, तर चिनियाँ जहाज भने ‘फोर–फोर एफ’ क्याटागोरीका छन् ।

हाम्रो विमानस्थलमा ४ सय सिरिजको ७४७ बोइङलाई अवतरणमा समस्या छैन । तर, चीनबाट आउने भनिएको ८ सय सिरिजका बोइङका पखेटा लामा हुन्छन् । त्यसकारण यहाँको साँघुरो विमानस्थलमा समस्या हुनसक्ने नेपाली अधिकारीले बताएका हुन् ।

चिनियाँ पक्षले अहिलेसम्म राष्ट्रपतिसहित उक्त टोलीमा आउनेलाई राख्ने होटलहरुको पनि टुंगो लगाइसकेको छैन । कुन होटल उपयुक्त हुन्छ र कसलाई कहाँ राख्ने भन्नेबारे अलग्गै टोलीले अध्ययन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्