योगेशले दनक दिदा पूर्वराजालाई ‘टेन्सन’



काठमाडौ : थाईल्याण्डको पारिवारिक भ्रमण सकेर नेपाल फर्किएपछि भेटघाटलाई तीव्र बनाएका पूर्व राजा ज्ञानेन्द्र शाह अहिले तनावमा रहेको बुझिएको छ ।

भारत र केही पश्चिमा देशहरुको गुलियो बचन पाएर आनन्द मानिरहेका पूर्वराजा शाह पारिवारिक हिसाबले पनि सन्तुष्ट छैनन् । एक मात्र पुत्र पारस शाहको क्रियाकलापबाट आजित बनेका पूर्वराजा शाह, मुमा रत्न र श्रीमति कोमलको स्वास्थ्य अवस्थाका कारण पनि चिन्तित देखिन्छन् ।

पछिल्लो पटक संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शाह राजा हुँदाका बखत चढेको नेपाल वायु सेवा निगमको जहाज भाडा बक्यौता असुल उपर गर्ने बताएपछि यसले पनि पूर्वराजाको तनाव बढाएको छ । पूर्वराजा शाह निकट श्रोतका अनुसार पूर्वराजाले यस विषयमा आफ्नो सचिवालय र निकटका व्यक्तिहरुसँग समेत परामर्श गरेका छन् ।

त्यसो त पूर्वराजा शाहका हितैषी प्रभु शमशेरको निधन भएपछि एक्लो अनुभव गर्दै आएका पूर्वराजालाई बेलबखत प्रभु शमशेरको अभाव खड्किरहन्छ । बाह्य र राजनीतिक सम्बन्धमा समस्या आईपर्दा पूर्वराजाले प्रभुसँगै छलफल गर्दथे । व्यापारिक साझेदार समेत रहेका प्रभुले पूर्वराजाका समस्या समाधान गर्न सेतुको काम पनि गर्दै आएका थिए ।

अहिले भने पूर्वराजाको प्रभुले जस्तै काम गरिदिने व्यक्तिको अभाव देखिन्छ ।हत्तपत्त पूर्वराजाले कसैलाई विश्वास गर्दैनन् । त्यसैले मनमा खड्किएका कुरा पनि हत्तपत्त उनी कसैलाई खोल्दैनन् ।

मन्त्री भट्टराईले राजा महाराजाहरुले चढेको जहाजको पैसा नतिरेर निगम डुबिरहेको बताउदै उक्त बक्यौता रकम असुलउपर गरी छाड्ने बताएपछि पूर्वराजा थप तनावमा परेको स्रोतको दाबी छ ।
उता पूर्वराजा शाहले उक्त जहाज आफूले व्यक्तिगत रुपमा नभई राष्ट्र प्रमुखका हैसियतमा प्रयोग गरेका हुनाले उक्त बक्यौता रकम सरकारले तिर्नुपर्ने सन्देश यसअघि नै पठाएको निकटवर्तीसँग बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रयोग गरेको जहाजको भाडाबापत झण्डै पाँच करोड रुपैयाँ बक्यौता छ । पूर्वराजा शाहले विभिन्न समयमा विमान चार्टर गरेबापतको वक्यौता रकम अझैसम्म तिरेका छैनन् । शाहले ४ करोड ९० लाख रुपैयाँ तिर्न बाँकी रहेको निगमले बताएको छ । जुन रकम पूर्वराजा शाहकै नाममा बक्यौता राखिएको छ ।

उक्त बक्यौता रकम शाह राजा हुँदाका बेलाकै हो । उक्त वक्यौता रकम असुल गर्ने भन्नेमा निगम अन्योलमा रहँदै आएको छ । ३६ अर्बभन्दा माथिको ऋणभार बोकेको निगमलाई वक्यौता रकम पनि टाउको दुखाईको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्